काठमाडौं- उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह र भारतीय विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ।
मन्त्री खट्टरले बुधबार उपप्रधानमन्त्री सिंहलाई सहरी विकास मन्त्रालय पुगेर शिष्टाचार भेट गरेका हुन्। भेटमा दुई देशको हित, पारस्परिक सम्बन्ध र सहरीकरणको क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको छ।
‘भारतले सहरी विकासको क्षेत्रमा पछिल्लो समय गरेको प्रगति, फोहोरमैला व्यवस्थापन र सहरी यातायातमा हासिल गरेको उपलब्धिको अनुभव आदानप्रदान गर्ने र आगामी दिनमा यिनै विषयमा सहकार्यका बारेमा सकारात्मक छलफल भएको छ,’ भेटपछि सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले भने।
उनले नपाल र भारत सरकारबीच सहरीकरणका अनुभव आदाप्रदान र सहायता परिचालनका लागि एमओयू तयार भइरहेको र त्यसमा छिट्टै सहमति भएपछि सहरी विकासको क्षेत्रमा दुई देशबिच औपचारिक सहकार्य अघि बढ्ने पनि जानकारी दिए।