शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

उखुको जुस बेचेर मासिक ९० हजार रूपैयाँसम्म आम्दानी, गर्मीमा बढ्दो छ व्यापार

images
बुधबार, वैशाख १० २०८२
images
उखुको जुस बेचेर मासिक ९० हजार रूपैयाँसम्म आम्दानी, गर्मीमा बढ्दो छ व्यापार

गर्मीको समय सुरु भएसँगै धरान, इटहरीलगायत बजार क्षेत्रमा उखुको जुस बिक्री गर्ने सयौँ व्यवसायी छन्। कम लगानीमा मनग्य आम्दानी हुने भएकाले यो व्यवसायप्रति धेरैको आकर्षण बढ्दै गएको छ।

images
images

सुनसरी- इटहरी उपमहानगरपालिका-६ का सरोज गौतमले ११ वर्षदेखि उखुको जुस बनाउने व्यापार गर्दै आएका छन्। गर्मी मौसममा उनको मासिक ९० हजार रूपैयाँसम्म आम्दानी हुने गरेको छ।

images
images
images

बढिरहेको चर्को गर्मी अनि सडक छेउमा राखिएको उखु जुसको स्टल, त्यसबाट बनाइएको मीठो जुसले यात्रीका लागि शीतलता दिनुका साथै व्यापारीको आम्दानी पनि बढाएको छ।

images
images

गौतमले सात वर्ष मलेसियामा सुरक्षा गार्डका रूपमा काम गरेर स्वदेश फर्केपछि इटहरी घर नजिकै एउटा गल्लीमा उखुको जुस बनाउने व्यापार सुरु गरे। उनले ११ वर्षदेखि यही पेसा गर्दै आएको भन्दै गर्मी समयमा मासिक ९० हजार रूपैयाँसम्म आम्दानी हुने जानकारी दिए। उनका अनुसार सबै खर्च कटाएर मासिक ४० हजार रूपैयाँ बचत हुने गरेको छ।

images
images

गौतमले भने, 'उखुको जुस बेचेर छोराछोरी पढाउनुका साथै सबै घरखर्च पुगेको छ। विदेशमा तातो घाममा दुःख गर्नुभन्दा स्वदेशमै सानै भए पनि आफ्नो व्यवसाय सञ्चालन गर्नु उपयुक्त हुन्छ।'

सुरुमा टेम्पो चलाए पनि आम्दानी नभएपछि ७० हजार रूपैयाँमा जुस बनाउने उपकरण किनेर व्यवसाय सुरु गरेको उनको भनाइ छ। 'जुस बनाउने उखु सहजै उपलब्ध हुन्छ, समस्या छैन। आफैले बराहक्षेत्रमा करिब एक बिघा जग्गा भाडामा लिएर उखुखेती गरेको छु। अपुग भएमा अन्य किसानसँग किन्ने गर्छु', उनले भने।

उखुको जुस स्वादका लागि मात्र नभएर स्वास्थ्यका लागि पनि उपयुक्त हुने इटहरीका अस्मिता श्रेष्ठले बताइन्। 'गर्मीमा बाहिर पसलमा राखिएका तयारी जुस पिउनुभन्दा यहाँको ताजा र स्वादिलो जुस पिउँदा स्वास्थ्यका लागि पनि लाभदायी हुन्छ', उनले भनिन्।

गौतमजस्तै धरान उपमहानगरपालिका-५ का दीपक श्रेष्ठ १० वर्ष कतार र चार वर्ष इरानमा काम गरेर स्वदेश फर्किए। उनले अहिले धरानका गल्लीगल्लीमा आफ्नो व्यवसायलाई विस्तार गरेका छन्। यही पेसाबाट जीविकोपार्जन भइरहेको उनले बताए।

'सुरुमा धेरै चुनौती र समस्याहरु भए पनि अहिले यो व्यवसायले सन्तुष्टि दिएको छ। अहिले मसँग सामूहिक रूपमा काम गर्ने दुई जना साथी पनि जोडिनुभएको छ। हामीले सामूहिक रूपमा धरान, इटहरीलगायत विभिन्न ठाउँमा उखुको जुसको कक्ष राखेका छौँ', श्रेष्ठले भने।

सानो लगानी भए पनि जुसका लागि उखु खरिद, उपकरण, बजारको प्रतिस्पर्धी वातावरणसँग जुध्नुपर्ने भएकाले सुरुवातमा चुनौतीपूर्ण रहेको उनले सुनाए। उनले भने, 'सुरुमा ग्राहक आउनुहुँदैनथ्यो। गल्लीहरू र घरघरमा गएर जुस खाइदिनुपर्‍यो भन्दै बेचेर हिँड्यौँ। अहिले भने ग्राहकले फोन गरेर जुसको कक्ष खोज्दै आउनुहुन्छ।'

श्रेष्ठको स्टलमा १० वर्षदेखि एक जनाले रोजगारीसमेत पाएका छन्। झापामा तीन बिघा जग्गामा उखुखेती गरेको बताउँदै उनले खेतीमा सहजीकरण गर्न थप दुई जनालाई रोजगारी दिएको जानकारी दिए।

'आफ्नो व्यवसायसँगै अरुलाई रोजगार दिन सक्दा गर्व महसुस हुन्छ। सानो लगानीबाट सुरु गरेको व्यवसायबाट अहिले मनग्य आम्दानी भइरहेको छ। व्यापार सधैँ एकनासको हुँदैन तर सन्तोषजनक छ। सबै कर्मचारीलाई तलब, छोराछोरी पढाउने, घर खर्च पुगेर ७० हजार रूपैयाँ बचत हुन्छ', उनले भने।

श्रेष्ठले आफ्नो जुस व्यवसायलाई व्यापारका रूपमा मात्र नलिएर स्वास्थ्य र वातावरणका लागि प्रभावकारी विकल्पका रूपमा लिएको बताए। 'तयारी जुसमा स्वास्थ्यलाई असर गर्ने अनावश्यक केमिकलहरू हुन्छन्। हामीले बनाउँदा उखु, बिरेनुन, पुदिना, कागती र घरमा बनाइएका बरफ प्रयोग गर्छौँ। जुस प्रतिगिलास ५० रूपैयाँमा बिक्री हुन्छ', उनले भने।

जाडो मौसममा अरुको घरमा काम गरे पनि गर्मीको समयमा उखुको जुसको व्यवसायले जीविकोपार्जन हुने गरेको इटहरी-२० का अमिर खड्काले बताए। उनले भने, 'जाडो मौसममा अरुको ज्यालामजदुरी गरे पनि माघ अन्तिमदेखि भदौसम्म जुसको व्यवसाय गर्दै आएको छु।' उनका अनुसार माघदेखि भदौसम्म मासिक रूपमा ६० देखि ७० हजार रूपैयाँसम्म आम्दानी हुन्छ।

गर्मीको समय सुरु भएसँगै धरान, इटहरीलगायत बजार क्षेत्रमा उखुको जुस बिक्री गर्ने सयौँ व्यवसायी छन्। कम लगानीमा मनग्य आम्दानी हुने भएकाले यो व्यवसायप्रति धेरैको आकर्षण बढ्दै गएको हो। रासस


प्रकाशित : बुधबार, वैशाख १० २०८२१६:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend