बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

ट्रयाक खुलेको १४ वर्षपछि पिपलबोट-पोक सडक स्तरोन्नति थालियो

बुधबार, वैशाख १० २०८२
ट्रयाक खुलेको १४ वर्षपछि पिपलबोट-पोक सडक स्तरोन्नति थालियो

यसअघि गत वर्ष हाडेभिर-पिपलबोट खण्डमा सडक स्तरोन्नति गरिएको थियो। यो मंगला गाउँपालिकाको गौरवको आयोजना हो।

म्याग्दी- ट्रयाक खुलेको १४ वर्षपछि म्याग्दीको मंगला गाउँपालिका-५ को पिपलबोट-पाखु सडक स्तरोन्नति गर्न थालिएको छ।

मंगला गाउँपालिकाले पोक-पिपलबोट-पाखु-घारा-सिरकुम-टिकावाङ सडक अन्तर्गत यस वर्ष पिपलबोट-पोक खण्डमा स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेको हो। मंगला-५ को वडा कार्यालय रहेको पोक जोड्ने सडक विसं २०६८ मा मार्ग खुलेको थियो। 

गाउँपालिकाले चालु आर्थिक वर्षमा तीन करोड २७ लाख रूपैयाँ बजेट विनियोजन गरेको यो सडक स्तरोन्नतिका लागि दुई करोड १७ लाख रूपैयाँमा निर्माण कम्पनीले ठेक्का लिएको छ।

ठेक्कामार्फत पिपलबोट र पाखु खण्डमा सडक फराकिलो पार्ने, घुम्ती तथा ग्रेड सुधार, नाली, पर्खाल निर्माण र ढलान गर्न लागिएको मंगला-५ का वडा अध्यक्ष भुपेन्द्र खत्रीले बताए।

उनका अनुसार नौसय ४५ घनमिटर पलम (पक्की) पर्खाल, एक हजार पाच सय ९६ घनमिटर ग्यावियन पर्खाल, दुई सय मिटर नाली र दुईसय २० मिटर सडक ढलान गर्ने काम ७० प्रतिशत सकिएको छ। आगामी असार महिनाभित्र योजना सम्पन्न गर्ने लक्ष्य छ।

सडक स्तरोन्नति भएपछि साविक अर्मन गाविसका बासिन्दालाई आवत जावत, वडा कार्यालय जान आउनका साथै कृषि उपज निकासी, निर्माण सामग्री र दैनिक उपभोग्य बस्ती आयातमा सहज हुने अपेक्षा गरिएको छ। हाल कच्ची, साघुुरो र ग्रेड नमिलेको सडकमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ।

यसअघि गत वर्ष हाडेभिर-पिपलबोट खण्डमा सडक स्तरोन्नति गरिएको थियो। यो मंगला गाउँपालिकाको गौरवको आयोजना हो। रासस


प्रकाशित : बुधबार, वैशाख १० २०८२११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend