बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन

मंगलबार, वैशाख ९ २०८२
ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन

सङ्खुवासभाको मकालु र चिचिला गाउँपालिकाको सिमानामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजना ९०० मेगावाट क्षमताको छ। एक खर्ब चार अर्ब रूपैयाँ लागतमा निर्माण सम्पन्न हुने उक्त आयोजना निर्माणको ठेक्का भारतीय सतलज हाइड्रोपावर कम्पनीले लिएको छ।

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरले अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेका छन्।

दुईदिने भ्रमणका क्रममा आज नेपाल आएका खट्टरले भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस र बाँध क्षेत्रको स्थलगत अवलोकन गरेका हुन्। सोही अवसरमा उनीहरूले आयोजनाको ‘युनिट-२’ को संयुक्त रूपमा उद्घाटन गर्नाका साथै वृक्षरोपण गरे।

अवलोकनका क्रममा मन्त्रीद्वयले हालसम्मको आयोजनाको प्रगति र आयोजना निर्माणका क्रममा देखिएका समस्याका बारेमा ठेकेदार कम्पनीसँग जानकारी लिएका थिए।

ऊर्जामन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद दिए। 'अरुण तेस्रो देशकै महत्वपूर्ण जलविद्युत् आयोेजना भएकाले सरकारले यसलाई उच्च प्राथमिकता दिएको छ, सरकारले कुनै कमी हुन दिँदैन,' मन्त्री खड्काले भने।

भारतका विद्युतमन्त्री खट्टरले नेपाल जलविद्युतको क्षेत्रमा अपार सम्भावना भएको मुलुक भएकाले ऊर्जा क्षेत्रबाटै समृद्धि हासिल गर्न सकिने बताए। उनले अरुण तेस्रो जलविद्युत् आयोजना चाँडो सम्पन्न गर्न सके दुवै देशलाई फाइदा हुने भएकाले समयमै सक्नुपर्नेमा जोड दिए। भारत सरकार नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न तयार रहेको उनको भनाइ थियो।

सङ्खुवासभाको मकालु र चिचिला गाउँपालिकाको सिमानामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजना ९०० मेगावाट क्षमताको छ। उक्त आयोजना विसं २०७५ वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गरेका थिए।

एक खर्ब चार अर्ब रूपैयाँ लागतमा निर्माण सम्पन्न हुने उक्त आयोजना निर्माणको ठेक्का भारतीय सतलज हाइड्रोपावर कम्पनीले लिएको छ। रासस


प्रकाशित : मंगलबार, वैशाख ९ २०८२१७:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend