बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

जलवायु परिवर्तनका कारण कष्ट झेलिरहेका थामेवासीलाई सहयोग गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

मंगलबार, वैशाख ९ २०८२
जलवायु परिवर्तनका कारण कष्ट झेलिरहेका थामेवासीलाई सहयोग गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

तीन हजार ८०० मिटरको उचाइमा रहेको हिमपहिरोले क्षतिग्रस्त बस्ती थामेमा आयोजित सम्मेलनमा विश्वविख्यात पर्वातारोहीसमेत उपस्थित छन्।

सोलुखुम्बु- प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण दुःख, कष्ट झेलिरहेका थामे क्षेत्रका बासिन्दालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

‘सगरमाथा संवाद’को पूर्वसन्ध्यामा सगरमाथा क्षेत्रको थामे गाउँमा आयोजित ‘आरोही सम्मेलन, जलवायु न्यायका लागि संवाद’ विषयक सम्मेलनलाई आज शुभकामना दिँदै थामेवासीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमार्फत थामेमा आयोजित जलवायुपरिवर्तनसँग यस किसिमको सम्मेलनबाट प्राप्त निष्कर्षले ‘सगरमाथा संवाद’को छलफललाई सार्थक र परिणाममुखी बनाउने आशा व्यक्त गरेका छन्।

अन्तर्राष्ट्रिय पृथ्वी दिवसका अवसरमा जलवायु न्यायको क्षेत्रमा काम गर्दै आएको संस्था ‘साथसाथै फाउन्डेसन’ले तिनै तहको सरकारको प्रत्यक्ष संलग्नतामा बाढी प्रभावित क्षेत्र थामेमा ‘आरोही सम्मेलन, जलवायु न्यायका लागि संवाद’ शीर्षकको कार्यक्रम आयोजना गरेको हो।

उक्त कार्यक्रममा रक्षामन्त्री मानवीर राई, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, कतारकी राजकुमारी तथा सगरमाथा आरोही आस्मा अलथानीसहितको सहभागिता रहेको थियो।

तीन हजार ८०० मिटरको उचाइमा रहेको हिमपहिरोले क्षतिग्रस्त बस्ती थामेमा आयोजित सम्मेलनमा विश्वविख्यात आरोही मिङमा डेबिड शेर्पा, कान्छो आरोही तेम्बा छिरी शेर्पासहितका पर्वातारोहीहरू समेत उपस्थित छन्।

खुम्बु पासाङ ल्हामु गाउँपालिका, कोशी प्रदेश सरकारको पर्यटन वन तथा वातावरण  मन्त्रालय र संघ सरकारको वन तथा वातावरण मन्त्रालयको सहकार्यमा सो संस्थाले ‘सगरमाथा संवाद’को पूर्वसन्ध्यामा थामेमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन आयोजना गरेको हो।

नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघसहित विभिन्न संघसंस्थाको समेत सो सम्मेलनमा सहकार्य रहेको छ। रासस


प्रकाशित : मंगलबार, वैशाख ९ २०८२१७:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend