बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी पूरा, २५० भन्दा बढी स्टलमार्फत स्वदेशी एवं विदेशी वस्तुको प्रदर्शनी गरिने

मंगलबार, वैशाख ९ २०८२
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी पूरा, २५० भन्दा बढी स्टलमार्फत स्वदेशी एवं विदेशी वस्तुको प्रदर्शनी गरिने

मेलामा नेपाल सहित चीन, भारत, पाकिस्तान, र बंगलादेशका स्टलहरु सहभागी हुनेछन् भने थाइल्याण्डको पनि सहभागिता रहनेछ।

काठमाडौं- काठमाडौंको भृकुटीमण्डपमा यही बैशाख २५ देखि २९ गतेसम्म आयोजना हुने नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुन लागेको मेलाको तयारीबारे मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो।

मेलामा नेपालसहित चीन, भारत, पाकिस्तान र बंगलादेशका स्टलहरु सहभागी हुनेछन् भने थाइल्याण्डको पनि सहभागिता रहनेछ।

नेपाल उद्योग वाणिज्य महासंघ उपाध्यक्ष सुरकृष्ण वैद्यले मेलाले नेपाली उत्पादनहरुको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उकास्न मेलाले सघाउ पुर्‍याउने पत्रकार सम्मेलनमा बताए।

उनले स्वदेशी तथा विदेशी गरी कुल २५० भन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब २० हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने अपेक्षा राखिएको पनि बताए।

यस्तै अर्का उपाध्यक्ष हेमराज ढकालले मेलाको यो दशौँ संस्करण भएको जानकारी दिँदै उनले मेलामा मेड इन नेपाल पेभेलियन तथा वस्तुगत संघहरुको पेभेलियन रहने जानकारी जानकारी दिए। यस्तै मेलामा मेड इन नेपाल सो, हस्तकला उत्पादनहरु, वस्तुगत संघहरुका उत्पादनका साथै चारपांग्रे र दुईपांग्रे विद्युतीय गाडीहरु (ईभी) समेत राखिने उनले बताए।

यस्तै, महासंघका केन्दीय सदस्य तथा व्यापार मेला समितिका सभापति उमेश डाल्मियाले मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माणसम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरु राखिने र मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवर्द्धन तथा लगानीबारे छलफल समेत हुने बताए।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीईपीसी) का वरिष्ठ अधिकृत मीनबहादुर कुँवरले नेपाली वस्तुको अन्तर्राष्टिय बजारीकरणका लागि मेला फलदायी हुने बताए। 

मेलामा चीनबाट पावर ट्रान्समिसन इक्युपमेन्ट, इलेक्टिकल्स तथा अटो मोबाइल्स, फुड एण्ड वेभरेज, मिलक प्रडक्ट, किचन वेयर, गार्मेन्टस्, समर्टवाच, बंगलादेशबाट गार्मेन्ट्स, पाकिस्तानबाट लेदर तथा गार्मेन्ट्स स्टलहरु रहने बताइएको छ।

उद्योग मन्त्रालयको सहयोग तथा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा यो व्यापार मेला हुन लागेको हो।

मेलामा जेष्ठ नागरिक तथा फरक क्षमताका नागरिकहरुलाई नि:शुल्क तथा विद्यार्थीहरुलाई उनीहरुको प्रवेशपत्रका आधारमा ५० प्रतिशत प्रवेश छुटको व्यवस्था गरिनुका साथै विभिन्न जिल्लाहरुमा आयोजना भएका मेलाहरुमा उत्कृष्ट स्टल तथा उत्पादनलाई एनआईटीएफमा नि:शुल्क स्टल उपलब्ध गराइने महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 


प्रकाशित : मंगलबार, वैशाख ९ २०८२१६:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend