बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

चितवन राष्ट्रिय निकुञ्ज प्रभावितलाई एक करोड रूपैयाँभन्दा बढी राहत

मंगलबार, वैशाख ९ २०८२
चितवन राष्ट्रिय निकुञ्ज प्रभावितलाई एक करोड रूपैयाँभन्दा बढी राहत

निकुञ्जले मध्यवर्ती क्षेत्रभित्रका चारसय १२ घटनाको राहतस्वरुप सो रकम उपलब्ध गराएको हो।

चितवन- चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुबाट प्रभावितलाई एक करोड २३ लाख ६ हजार ८४२ रूपैयाँ राहत प्रदान गरेको छ। निकुञ्जले मध्यवर्ती क्षेत्रभित्रका चारसय १२ घटनाको राहतस्वरुप सो रकम उपलब्ध गराएको हो।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गत साउनदेखि चैत मसान्तसम्ममा विभिन्न समयमा निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र वन्यजन्तुले गराएका घटनाबापत सो रकम पीडितलाई बुझाइएको हो।

उनका अनुसार वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका आठ जनाको परिवारलाई ८० लाख रूपैयाँ, घाइते २७ जनाको उपचार खर्च १६ लाख ९३ हजार ६४२ रूपैयाँ, दुईसय ४४ वटा खाद्यान्नबाली क्षतितर्फ १४ लाख १७ हजार रूपैयाँ राहत रकम बुझाइएको उनले बताए।

उनका अनुसार ९५  पशुधन क्षतितर्फ नौ लाख १९ हजार ७ सय रूपैयाँ, १८  घरगोठ क्षतितर्फ एक लाख ६६ हजार रूपैयाँ, १३ भण्डारण गरेको अन्नबाली क्षतिका लागि ८३ हजार रूपैयाँ र कुखुरा क्षतिबापत २७ हजार ५ सय रूपैयाँ राहत रकम बुझाइएको छ।
 
निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुबाट हुने क्षतिबापत राहत रकम दिने गरिन्छ। मृत्यु भएमा निजको परिवारलाई १० लाख रूपैयाँ दिने व्यवस्था छभने घाइते र अन्य क्षतिमा दिइने रकम प्रकृति हेरेर दिइने गरिन्छ।

सूचना अधिकारी थापामगरले भने, 'वन्यजन्तु मानव बस्तीमा पसेर गर्ने क्षतिको परिपूर्ति हुन नसक्ने भए पनि केही राहत होस् भनेर निकुञ्जले राहत वितरण गर्ने गरेको छ।'

मानव वन्यजन्तुबीचको द्वन्द्वका कारण हुने यस्ता घटना न्यूनीकरणका लागि निकुञ्जले राहतको कार्यक्रम मात्र नभएर विभिन्न किसिमका चेतनामूलक कार्यक्रम पनि गर्दै आएका छन्। रासस


प्रकाशित : मंगलबार, वैशाख ९ २०८२१०:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend