बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

बैशाख मसान्तभित्र सक्नेगरी लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग कालोपत्र थालियो

मंगलबार, वैशाख ९ २०८२
बैशाख मसान्तभित्र सक्नेगरी लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग कालोपत्र थालियो

स्थानीय, प्रदेश र संघीय सरकारको रु सात करोड ५० लाखको लागतमा करिब पाँच किलोमिटर सडकको कालोपत्रको काम थालिएको हो।

बनियानी- झापाको कनकाई नगरपालिका-४ र ५ हुँदै झापा गाउँपालिका जोड्ने लक्ष्मीमार्ग कालोपत्रको काम सुरु भएको छ। स्थानीय, प्रदेश र संघीय सरकारको रु सात करोड ५० लाखको लागतमा करिब पाँच किलोमिटर सडकको कालोपत्रको काम थालिएको हो।

कुल ११ किमी लक्ष्मीमार्गको ६ किमी सडक कालोपत्र भइसकेको र पाँच किमी सडकको निर्माणकार्य यही बैशाख मसान्तभित्र सम्पन्न गर्नेगरी काम भइरहेको कनकाई-४ का वडाध्यक्ष रोशन सुवेदीले जानकारी दिए।

लक्ष्मीमार्ग कालोपत्र भएपछि पूर्वपश्चिम लोकमार्गसँग कनकाई नगरपालिका-४ र ५ हुँदै झापा गाउँपालिकाको सिधा सम्पर्क हुने उनी बताउँछन्।

'लक्ष्मीमार्ग पूर्वपश्चिम लोकमार्गसँग जोड्ने हाम्रो एकमात्र सडक हो', वडाध्यक्ष सुवेदी भन्छन्, 'झापा गाउँपालिका हुँदै भारतीय सीमासम्म यो सडकले जोड्छ।'

थोरै बजेटबाट केही सडकखण्ड कालोपत्र गरिएको बताउँदै उनले प्रदेश र संघीय सरकारले यो वर्ष बजेट उपलब्ध गराएकाले सडक कालोपत्र सम्पन्न हुने क्रममा रहेको बताए। वर्षा सुरु हुनुपूर्व बैशाख मसान्तभित्रै सडक कालोपत्र सम्पन्न हुने उनले विश्वास व्यक्त गरे।

कनकाई नगरपालिकाको एकल ६५ लाख रूपैयाँको लागतमा सातसय मिटर, प्रदेश सरकार र स्थानीय तहको साझेदारी कनकाई नगरको ४५ लाख रूपैयाँ र कोशी प्रदेश सरकारको एक करोड २० लाख रूपैयाँको लागतमा एक हजार ३०० मिटर र संघीय सरकारको पाँच करोड २० लाख रूपैयाँको लागतमा तीन हजार २०० मिटर सडक निर्माण भइरहेको वडाध्यक्ष सुवेदीले बताए।

स्थानीय, प्रदेश र संघीय सरकारले छुट्टाछुट्टै बोलपत्र आह्वान गरी ठेक्का लगाएको यो सडकमा विभिन्न पाँचवटा निर्माण कम्पनीले धामधम काम गरिरहेका छन्। सडक निर्माण भएपछि राजमार्गसँग यहाँका नागरिकको सिधा पहुँच पुग्ने वडाध्यक्ष सुवेदी बताउँछन्।

'सडक कालोपत्र नहुँदा यहाँ उत्पादित कृषिजन्य वस्तु बजारसम्म पुर्याउन समस्या थियो, हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने यो सडक बनेपछि कनकाई र झापा गाउँपालिकाका स्थानीयवासी लाभाविन्त हुनेछन्', वडाध्यक्ष सुवेदीले भने। रासस


प्रकाशित : मंगलबार, वैशाख ९ २०८२१०:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend