बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

वीरगञ्ज : एक वर्षमा ४२ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद

मंगलबार, वैशाख ९ २०८२
वीरगञ्ज : एक वर्षमा ४२ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद
फाइल तस्बिर

सोही अवधिमा १३ करोड ८१ लाख २५ हजार २२० रूपैयाँ मूल्यको बिलबीजक नभएका सामान भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको छ।

वीरगञ्ज- सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल पर्साको सक्रियता बढाएसँगै छिमेकी मुलुक भारतबाट भन्सार छलीका सामान बरामद हुने क्रम ह्वात्तै बढेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्वाटरका गणपति राधेश्याम धिमालले एक वर्षको अवधिमा ४१ करोड ९२ लाख ३१ हजार ७०७ रूपैयाँको अवैध तथा शंकास्पद मालसामान बरामद गरेको जानकारी दिए।

'सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै अवैध चोरी पैठारी गरेर भित्रिने लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्ट्स, खाद्यान्न पदार्थ र किरानाका सामान बरामद हुने क्रम बढेको छ', उनले भने, ' सशस्त्र प्रहरीले वीरगञ्ज भन्सार नाकामा दुईवटा तालिमप्राप्त कुकुर पनि खटाएर जाँच गर्दै आइरहेको छ।'

सशस्त्र प्रहरी बलले २०८१ बैशाखदेखि २०८२ बैशाख ६ गतेसम्म २८ करोड ११ लाख छ हजार ४८७ रूपैयाँ मूल्यका भन्सार छली गरेर भित्र्याइएका लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्ट्स, खाद्यान्न पदार्थ र किराना सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ।

त्यसैगरी, सोही अवधिमा १३ करोड ८१ लाख २५ हजार २२० रूपैयाँ मूल्यको बिलबीजक नभएका सामान भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको छ।

गणपति धिमालले सशस्त्र प्रहरी बलले जिल्लामा एक सय सात किलोमिटर खुला सीमाको सुरक्षा, सीमानाकामा हुने अवैध चोरीपैठारी निकासी रोकथाम र सीमावासीसँग सशस्त्र प्रहरीलगायतका कार्यक्रम गर्दै आइरहेको जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, वैशाख ९ २०८२१०:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend