शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

किसानलाई बीउ वितरण गर्न पालिका आफैले थाल्यो उत्पादन

आइतबार, वैशाख ७ २०८२
किसानलाई बीउ वितरण गर्न पालिका आफैले थाल्यो उत्पादन

धानको मूल बीउ उत्पादन गरी पालिकाले एकसय ४२ क्विन्टल उन्नत जातको बीउ तयार गरी भण्डारण गरेको हो।

बाँके- किसानलाई बीउ वितरण गर्न डुडुवा गाउँपलिकाले यस वर्षदेखि बीउ उत्पादन सुरु गरेको छ। धानको मूल बीउ उत्पादन गरी पालिकाले एकसय ४२ क्विन्टल उन्नत जातको बीउ तयार गरी भण्डारण गरेको हो।

उन्नत जातको बीउ प्राविधिकको समूहले ल्याब परीक्षण गरी प्रमाणीकरण गराएर कृषि प्रशोधन केन्द्रमा भण्डारण गरेको पालिकाका कृषि शाखा प्रमुख सुशीलकुमार शर्माले जानकारी दिए। उनका अनुसार करिब दुई सय दुई हेक्टर क्षेत्रफललाई बीउ पुग्ने गरी तयार गरिएको हो। डुडुवाले आफ्नै किसानसँग पाँच लाख ६८ हजार रूपैयाँ बराबर १४ मेट्रिक टन धान खरिद गरी उन्नत जातको बीउ प्रशोधन गरेको उनले बताए।

धानको बेर्ना लगाउने याममा पालिकाले किसानलाई बीउ वितरण गर्ने प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डेयले बताए। उनका अनुसार किसानलाई बीउ वितरण गर्न कति अनुदान तथा कसरी वितरण गर्नेबारे कार्यपालिकाको निर्णयअनुसार कार्यान्वयन गरिने छ।

डुडुवाले आगामी दिनमा सबै कृषि बालीको बीउ उत्पादन तथा भण्डारण कार्य गर्ने कृषि शाखाले जनाएको छ। पहिलोपटक धानको बीउ उत्पादन गरेको पालिकाले यसवर्षदेखि गहुँको बीउ पनि प्रशोधन गर्ने तयारी गरेको छ।

दुईसय ४० क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य लिएइएकाले किसानका मागका आधारमा थप वृद्धि गर्दै जाने कृषि शाखा प्रमुख शर्माले बताए। उनका अनुसार अहिले गहुँ भित्र्याउने समय रहेकाले अब केही दिनभित्रै गहुँ खरिद गरी ल्याब परीक्षणको प्रक्रिया अघि बढाइने छ। 

किसानलाई पालिकाले आफैले बीउ वितरण गरेपछि कृषि उत्पादनमा वृद्धि हुने, अन्यत्र खोज्न जान नपर्नेलगायत सुविधा भएको छ। डुडुवामा करिब ९० प्रतिशत किसान खेतीपातीमा निर्भर रहेका गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए। पालिकाले किसानको सहजताका लागि बीउ उत्पादन गरी घरसम्म पुर्‍याउने लक्ष्यका साथ विशेष कार्यक्रम ल्याएको उनले उल्लेख गरे।

अध्यक्ष चौधरीले भने, 'बीउ उत्पादन तथा भण्डारणपछि यहाँका कोही पनि किसानलाई बीउका लागि भौतारिनुपर्ने अवस्था आउँदैन, पालिकाले सहुलियत दरमा बीउ र मलखाद वितरण गरी कृषि उत्पादनमा वृद्धि गर्नेछ।'

उनले बीउमा आत्मनिर्भर बनाउने रणनीति अनुसार बीउ भण्डारण तथा प्रशोधनका लागि अत्याधुनिक प्रशोधन प्लान्ट जडान गरी सञ्चालनमा ल्याइएको बताए। उनका अनुसार बीउ उत्पादनलाई प्रशोधन र बजारीकरणका लागि डुडुवा-२ स्थित सातसय मेट्रिक टन क्षमताको भण्डारण केन्द्र स्थापना गरिएको छ। रासस


प्रकाशित : आइतबार, वैशाख ७ २०८२१४:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend