बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

अमेरिका र चीनबीच चर्किँदो 'व्यापार युद्ध'ले लगानीकर्ताहरू सुरक्षित विकल्प मानिरहेछन् सुन

बिहीबार , वैशाख ४ २०८२
अमेरिका र चीनबीच चर्किँदो 'व्यापार युद्ध'ले लगानीकर्ताहरू सुरक्षित विकल्प मानिरहेछन् सुन

विश्वभरका वित्तीय बजारहरूमा अस्थिरता बढिरहेका बेला सुन सुरक्षित सम्पत्ति मानिँदै आएको छ। लगानीकर्ताहरूले जोखिमयुक्त सेयर बजार र डलरबाट ध्यान हटाएर सुनतर्फ आकर्षण बढाएका छन्।

काठमाडौं- अमेरिका र चीनबीच चर्किँदो व्यापार युद्धले विश्व अर्थतन्त्रमा अनिश्चितता बढाइरहेका बेला लगानीकर्ताहरू सुरक्षित विकल्पतर्फ लाग्दा सुनको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको छ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३ हजार ३ सय ५७.४० अमेरिकी डलरमा पुगेर सुनको मूल्यले नयाँ कीर्तिमान कायम गर्‍यो। सन् २०२५ लागेयता सुनको मूल्य करिब ३० प्रतिशतले बढेको छ।

नेपाली बजारमा सुनको मूल्यले लगातार कीर्तिमान बनाइरहेको छ। बुधबार नेपाली बजारमा सुनको मूल्य तोलाकै १ लाख ८७ हजार रूपैयाँको कीर्तिमानी मूल्यमा पुग्यो। जुन कीर्तिमान तोडिएर आज बिहीबार प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ पुग्यो। नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर मूल्य तय गरिन्छ।

अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) का अध्यक्ष जेरोम पावेलले राष्ट्रपति डोनाल्ड ट्रम्पको करनीतिले मूल्यवृद्धि र आर्थिक सुस्तता निम्त्याउने बताएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। उनका अनुसार पछिल्ला केही सातामा घोषणा गरिएका उच्च करहरू अमेरिकी अर्थतन्त्रका लागि चुनौती बन्न सक्ने देखिएको छ।

विश्वभरका वित्तीय बजारहरूमा अस्थिरता बढिरहेका बेला सुन सुरक्षित सम्पत्ति मानिँदै आएको छ। लगानीकर्ताहरूले जोखिमयुक्त सेयर बजार र डलरबाट ध्यान हटाएर सुनतर्फ आकर्षण बढाएका छन्।

चीन, भारत, टर्की, ब्राजिल र सिंगापुर जस्ता देशहरूले आफ्नो विदेशी मुद्रा भण्डारणमा सुनको हिस्सा बढाइरहेका छन्, जसले बजारमा सुनको माग बढाएको छ। यसका साथै अमेरिकी फेडरल रिजर्भले ब्याजदर कटौती गर्ने संकेत दिएको छ, जसले नगद वा बन्डमा लगानीको आकर्षण घटाउँछ र सुनजस्ता सुरक्षित सम्पत्तितर्फ लगानीकर्ताहरू आकर्षित हुन्छन्। 

सुन अहिले सबैभन्दा बढी रुचाइएको लगानी विकल्प बनेको छ। डलर नीतिगत अन्योलले थलिएको छ र लगानीकर्ताहरूले अब राजनीतिक निर्णयमा आधारित कुनै पनि सम्पत्तिमा विश्वास गुमाएको विश्लेषकहरूले बताइरहेका छन्। 

विश्व बजारमा सुनको मूल्यमा आएको यति ठूलो उछाल पछिल्लो पटक सन् १९७९ को इरानी क्रान्तिका बेला देखिएको थियो, जब केही महिनामै सुनको मूल्य झण्डै १२० प्रतिशतले बढेको थियो। अहिले पनि लगानीकर्ताहरू 'वास्तविक सम्पत्ति' खोज्दै सुनमा आश्रय लिइरहेका छन्। 

अमेरिकी राष्ट्रपति ट्रम्प पुनः सत्तामा फर्किएसँगै चीनमाथि १४५ प्रतिशतसम्मको कर लगाएका छन्। चीनले जवाफस्वरूप अमेरिकाबाट आयात हुने सामानहरूमा १२५ प्रतिशत कर लागु गरेको छ। अन्य देशहरूमा लागु गरिने भनिएका अमेरिकी करहरू हाललाई ९० दिनका लागि रोकिएका छन्।

करले अमेरिकी उद्योगहरूलाई लयमा फर्काउने, रोजगारी सिर्जना गर्ने र कर राजस्व बढाउने ट्रम्प प्रशासनले दाबी गरेको छ। तर विश्लेषकहरू यसले उपभोक्ताहरूलाई महँगीको मारमा पार्ने र विश्वको आर्थिक वृद्धिमा असर पार्ने बताउँछन्। 


प्रकाशित : बिहीबार , वैशाख ४ २०८२१०:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend