तनहुँ- नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय बाह्य अनुसन्धान केन्द्र, खुमलटारको आयोजनामा तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित बरादीमा 'कृषक वैज्ञानिक अन्तरक्रिया कार्यक्रम' गरिएको छ।
उक्त कार्यक्रमले वैज्ञानिक अनुसन्धानको प्रतिफल किसानसम्म पुर्याउने उद्देश्य राख्दै अनुसन्धानकर्ताहरू र कृषकहरूबीचको प्रत्यक्ष सम्बन्धलाई मजबुत पार्ने महत्वपूर्ण अवसर प्रदान गरेको जनाइएको छ।
कार्यक्रममा २५ जना स्थानीय किसानहरूको प्रतिनिधिमूलक सहभागिता थियो। जसमा पुरुष तथा महिला दुवै सक्रिय रूपमा उपस्थित थिए। उनीहरू तनहुँ र आसपासका गाउँहरूबाट आएका थिए। सबैजना व्यवहारिक कृषि कार्यमा प्रत्यक्ष संलग्न थिए। उनीहरूको अनुभव, जिज्ञासा र समस्या कार्यक्रमको मूल केन्द्रबिन्दु बनेका थिए।
अर्कोतर्फ १७ जना विशिष्ट कृषि वैज्ञानिकहरूको उपस्थितिले कार्यक्रमलाई गहिरो ज्ञान र वैज्ञानिक दृष्टिकोणले समृद्ध बनाएको जनाइएको छ।
यी वैज्ञानिकहरू विभिन्न राष्ट्रिय कृषि अनुसन्धान केन्द्रहरू, कार्यक्रम तथा कृषि अनुसन्धान निर्देशनालय अन्तर्गतबाट आएका थिए, जसमा माटो, बाली, बाली रोग, कीट, बागबानी, पशुपालन, चरन तथा घाँसेबाली, मत्स्य, कृषि अर्थ, तथा कृषि सूचना व्यवस्थापन जस्ता विषयवस्तु समेटिएको थियो। यस्ता विविध उपस्थितिले कार्यक्रमलाई बहुआयामिक बनाएको जनाइएको छ।
राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रका प्रमुख डा. प्रकाश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाल कृषि अनुसन्धान परिषदका सदस्य तथा राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरका संयोजक डा. राजु कँडेल उपस्थित थिए। उनले आफ्नो मन्तव्यमा पशुपालन प्रणालीमा सुधार ल्याउन अनुसन्धानको भूमिकाबारे प्रकाश पारे।
कार्यक्रममा डा. बन्धुराज बराल, निर्देशक, कृषि अनुसन्धान निर्देशनालय, लुम्ले; डा. माधव प्रसाद आचार्य, प्रमुख, राष्ट्रिय पशु स्वास्थ्य अनुसन्धान केन्द्र; डा. श्रीप्रसाद बिष्ट, प्रमुख, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र; डा. सुधा सापकोटा, प्रमुख, अनुगमन तथा मूल्यांकन महाशाखा; र डा. कालिका प्रसाद उपाध्याय, प्रमुख, राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र लगायतका विशिष्ट वैज्ञानिकहरूको उपस्थिति रहेको थियो।
विशेष आकर्षणको रूपमा कृषि विज्ञ हरेराम देवकोटाले 'अन्तरक्रिया कार्यक्रम संचालनको समग्र रुपरेखा प्रस्तुत' शीर्षकमा प्रस्तुति दिए। प्रस्तुतिमा व्यावहारिक अनुभव र नवीन अनुसन्धान दुवैको संयोजन गरिनुपर्ने तथ्यलाई जोड दिइएको थियो। उनले माटोको उर्वरता सुधार, जल व्यवस्थापन, जैविक विविधता संरक्षण, तथा माछा र बाख्रा पालनमा प्रविधिको प्रयोगबारे वैज्ञानिक ढंगले जानकारी गराए।
खासगरी उनको प्रस्तुतिमा किसानहरूको समस्या केन्द्रित थियो, जसमा जलवायु परिवर्तनका असर, बालीमा कीट र रोगको बढ्दो प्रकोप, तथा मलको उपलब्धताजस्ता व्यवहारिक चुनौतीहरू समेटिएका थिए।
त्यसपछि अन्तरक्रिया कार्यक्रमको संयोजन डा. कालिका प्रसाद उपाध्यायले गरे भने सहजीकरण हरेराम देवकोटाले गरे। २५ जना कृषकमध्ये अधिकांशले आफ्ना समस्या, जिज्ञासा र सुझावहरू राखे। तीमध्ये केही प्रमुख विषयहरूमा उन्नत जातहरूको चयन, बीउको गुणस्तर, कृषि बीमा प्रणाली, स्थानीय बजार व्यवस्थापन, सिँचाइ अभाव, र मल व्यवस्थापन समेटिएका थिए।
विज्ञहरूले तथ्यमा आधारित उत्तर दिने प्रयास गरे। डा. श्रीप्रसाद बिष्टले माटो परीक्षणको महत्त्व र माटोमैत्री प्रविधिको प्रयोगबारे बल दिनुभयो। डा. सुधा सापकोटाले अनुगमन र मूल्यांकनको वैज्ञानिक ढाँचा मार्फत कृषकलाई सेवा पुर्याउने नीतिगत पक्षबारे चर्चा गरे।
बाली रोग विज्ञ डा. राम ब. खड्काले रोग पहिचान र जैविक नियन्त्रणको विकल्पबारे जानकारी गराउनुभयो। कीट विज्ञ शीला शर्मा भट्टले कीट व्यवस्थापनमा कृषकहरूले सजिलै प्रयोग गर्न सक्ने प्रविधि प्रस्तुत गरे।
बाली विज्ञ डा. उज्जल कुमार कुशवाहाले उच्च उत्पादन दिने जात र बाली विविधिकरणमा जोड दिए। उक्त कार्यक्रममा वैज्ञानिकहरू सन्तोष लोहनी, डा. उज्ज्वलकुमार सिंह कुशवाह, सरोज अधिकारी, नविन रावल र हेमराज ढकाल लगायतको सहभागिता थियो।
पशु स्वास्थ्य, बाख्रा र माछा पालनमा देखिएका समस्या तथा समाधानबारे क्रमशः डा. माधव आचार्य, डा. राजु कँडेल र हरेराम देवकोटाले व्याख्या गरे।
डा. बन्धुराज बरालले किसान वैज्ञानिक सहकार्यलाई दीर्घकालीन सुधारको मूल आधार भन्दै अनुसन्धानको आधारमा कृषि प्रणालीलाई आत्मनिर्भर बनाउने अवधारणामा जोड दिए।
किसान प्रतिनिधिहरूले कार्यक्रमको प्रशंसा गर्दै वैज्ञानिकहरूसँग प्रत्यक्ष छलफलको यो अवसर निकै उपयोगी रहेको अनुभव सुनाए। कतिपयले यस्ता कार्यक्रममा पहिले कहिल्यै सहभागी हुन नपाएको बताउँदै, यस्ता अन्तरक्रियाले आफूहरूको मनोबल र जानकारी दुवै बढाएको बताए।
कार्यक्रममा डा. प्रकाश भट्टराईले यस्ता कार्यक्रम नियमित रूपमा गर्नुपर्ने आवश्यकता औंल्याए। उनले अनुसन्धान र कृषकबीचको दूरी घटाउन यस्ता अन्तरक्रियाको भूमिका अमूल्य रहेको उल्लेख गरे।
यस किसिमको कार्यक्रमले वैज्ञानिक अनुसन्धानलाई प्रयोगमा ल्याउने र कृषकलाई नवीनतम प्रविधिमा पहुँच दिलाउने माध्यमको रूपमा काम गरेको आयोजकले जनाएको छ। दीर्घकालीन रूपमा हेर्दा यस्ता पहलहरूले खाद्य सुरक्षाको स्थायित्व, कृषिको व्यवसायिकरण, तथा ग्रामीण समृद्धिको आधार तयार गर्न सक्ने विश्वास गरिएको जनाइएको छ।