शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

तरकारीखेती प्रवर्द्धन गर्न भोजपुरको भुल्केमा ‘एक घर, एक टनेल’ कार्यक्रम

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत २९ २०८१
तरकारीखेती प्रवर्द्धन गर्न भोजपुरको भुल्केमा ‘एक घर, एक टनेल’ कार्यक्रम
फाइल तस्बिर

'भुल्के क्षेत्रलाई तरकारीमा नमूना बनाउने लक्ष्यका साथ अघि बढेका छौँ', वडाध्यक्ष थापामगरले भने, 'यो वर्ष हामीले किसानको लागत साझेदारीमा कृषि सामग्री वितरण गरेका छौँ।'

भोजपुर- तरकारीखेती प्रवर्द्धन गर्ने उद्देश्यले रामप्रसादराई गाउँपालिका-३ भुल्केमा ‘एक घर,एक टनेल’कार्यक्रम सञ्चालन भएको छ। किसानलाई व्यावसायिक तरकारीखेतीमा जोड्न गाउँपालिकाले ‘एक घर एक प्लाष्टिक टनेल’ कार्यक्रम सञ्चालन गरेको हो।

गाउँपालिकाको ‘नेपाल जलवायु अनुकूलन कार्यक्रम’मार्फत १० लाख र वडाले तीन लाख ५० हजार बजेट विनियोजन गरेर किसानलाई टनेल वितरण गरेको रामप्रसादराई-३ भुल्केका वडाध्यक्ष रामु थापामगरले बताए। 

किसानको ५० प्रतिशत लागत साझेदारीमा प्लाष्टिक टनेलसहित अन्य कृषि सामग्री वितरण गरिएको वडाध्यक्ष थापामगरले जानकारी दिए। किसानको मागको आधारमा पहिलो चरणमा वडाका १२१ जना किसानलाई टनेल वितरण गरिएको उनले जानकारी दिए। 

'भुल्के क्षेत्रलाई तरकारीमा नमूना बनाउने लक्ष्यका साथ अघि बढेका छौँ', वडाध्यक्ष थापामगरले भने, 'यो वर्ष हामीले किसानको लागत साझेदारीमा कृषि सामग्री वितरण गरेका छौँ। तरकारीको लागि उपयुक्त भूगोल रहेकाले यसको खेतीमा जोड दिएका हौँ।' किसानलाई कम्तीमा पनि तीन वर्षसम्म अनिवार्य खेती गर्ने सर्तसहित टनेल वितरण गरिएको वडाध्यक्ष थापामगरले बताए। 

प्लाष्टिक टनेलसहित थोपा सिँचाइ, मल्चिङ प्लाष्टिक, पाइप, कीरा मार्ने पासो र आवश्यक बीउबिजन पाएको स्थानीय किसान सीताराम मगरले बताए। गाउँपालिका तथा वडाले गरेको सहयोगले व्यावसायिक तरकारी खेतीमा लाग्न प्रोत्साहन मिलेको उनले बताए। प्लाष्टिक टनेलसहित आवश्यक बीउबिजन र कृषि सामग्री पाएकाले खेती गर्न सहज भएको उनले बताए।

गाउँपालिकाले गरेको सहयोगबाट थप टेवा पुगेको अर्का किसान देवीप्रसाद भट्टराईले बताए। अन्य बालीको तुलनामा प्रविधि प्रयोग गरेर उत्पादित तरकारीबाट छ गुणा बढीसम्म आम्दनी लिएको उनले सुनाए। 

किसानलाई प्रविधिमैत्री जैविकखेती प्रणालीमा जोड्न ‘एक घर एक प्लाष्टिक टनेल’को कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। किसानलाई तरकारीखेतीसम्बन्धी जानकारी दिन  पाँच वटा वडामा केन्द्र स्थापना गरेर प्रशिक्षणको व्यवस्था गरिने उनले बताए।

अध्यक्ष राईले भने, 'अधिकांश किसानको मुख्य आम्दानीको स्रोत नै कृषि छ। खेती प्रणालीलाई व्यवस्थितसँगै आयमूलक बनाउन विभिन्न कार्यक्रम गरिरहेका छौँ । किसानले उत्पादन गरेको कृषिउपजको बजारीकरणको लागि कृषि एम्बुलेन्स खरिद गरेका छौँ।' 

गाउँपालिकालाई तरकारीको ‘हब’ बनाउने लक्ष्यका साथ ‘कृषि गुरुयोजना’ बनाएर कृषिमा लगानी गरिरहेको छ। गाउँपालिकाले उत्कृष्ट खेती गर्ने किसानलाई पुरस्कारको व्यवस्था गरेको अध्यक्ष राईले जानकारी दिए। रासस


प्रकाशित : शुक्रबार, चैत २९ २०८११०:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend