शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

विदेशबाट फर्केर गाउँमै व्यावसायिक कृषिमा म्याग्दीका युवा

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, माघ २२ २०७८
विदेशबाट फर्केर गाउँमै व्यावसायिक कृषिमा म्याग्दीका युवा

गलेश्वर- दश वर्षको जापान बसाइलाई बीट मारेर आफ्नै देशमा फर्किएका म्याग्दीको मङ्गला गाउँपालिकाका कृष्ण पौडेल, १६ वर्ष मलेशिया बसेर गाउँ फर्किएका बेनी नगरपालिका २ का धु्रव थापा, लामो समय कोरियामा रोजगारी गरेका डडुवाका कृष्ण बानियाँ स्वदेश फर्केर व्यावसायिक कृषिमा लागेका छन्।

लामो समयसम्म विदेशमा काम गरी कमाएको पैसा गाउँमा नै कृषि क्षेत्रमा  लगानी गरेर मनग्य आम्दानी गर्न म्याग्देली युवाहरु सफल भएका छन्। विदेशबाट फर्केका युवाहरु आधुनिक प्रविधि र साधन स्रोतको प्रयोग गरी व्यावसायिक रुपमा नै कृषिमा लागेपछि गाउँमा रहेका युवाहरु पनि कृषि पेशाप्रति आकर्षित भएका छन्।

जिल्लाका बेनी नगरपालिका सहित ६ वटै स्थानीय तहहरुमा पछिल्लो समय व्यावसायिक कृषि फस्टाउँदै गएको स्थानीय तहका कृषि प्राविधिकहरुले बताएका छन्।

विगत दुईवर्ष यता म्याग्दीमा २८ जना  युवाहरु विदेशबाट फर्केर व्यावसायिक कृषिमा लागेका छन्। ती मध्येका एक हुन् मङ्गला गाउँपालिकाका कृष्ण पौडेल।  जापानमा १० वर्ष विताउनुभएका मङ्गला गाउँपालिका– २ तल्लो डडुवाका युवा पौडेलले व्यावसायिक रुपमा कृषि तथा पशुपालन गरेका छन्।

परम्परागत शैलीको खेती र पशुपालनलाई विस्थापित गर्दै लकडाउनको समयमा कृषि र पशुपालनलाई व्यावसायिक आम्दानीको स्रोतको रुपमा अगाडि बढाएका छन्।

टिकेवी बहुउद्देश्यीय पशुपालन तथा कृषि फार्मबाट मकै, कोदो खेती रहेको बारीलाई विस्थापित गरेर चारसय सुन्तला लगाउनुभएको छ भने करिव दुईसय बोटबाट यस वर्ष दाना उत्पादन भएको कृषक पौडेलले बताए।

गतवर्ष उत्पादन भएका सुन्तला काठमाण्डौँ पुर्‍याएका कृषक पौडेलले यस वर्ष उत्पादन भएका सुन्तला पोखरा पुर्‍याउन व्यापारी घरमै आएपछि कृषक पौडेल खुशी छन्।

 गत वर्ष सुन्तला खेतीबाट करिव एकलाख आम्दानी गरेका पौडेलको यस वर्ष आम्दानी बढ्ने अनुमान छ। सुन्तला उत्पादन वर्षैपिच्छे नयाँ बोटहरुमा फल्र्दै गएपछि आम्दानी पनि बढेको छ ।

मकै कोदो लगायतको खेतीलाई विस्थापित गरेर सुन्तलासँगै गोलभेँडा, बन्दाकाउली लगायतको तरकारी खेतीबाट मात्रै मासिक रुपमा १५ हजार रुपैयाँ भन्दा बढी आम्दानी गरेका छन्। पौडेलले फलफूल तथा तरकारी खेतीलाई आवश्यक फलका लागि व्यावसायिक रुपमा उन्नत जातका बाख्रापालन गरेका छन्।

करिव २० लाख लगानीमा विगत २ वर्षदेखि ४० वटा उन्नतजातका बोयर र स्थानीय बाख्रा पालन गरेको उनले बताए। क्रस बोयर पाठापाठी उत्पादन गरेर बिक्री गर्ने योजनासहित आधुनिक किसिमको खोर निर्माण गरेको कृषक पौडेलको भनाइ रहेको छ।

उनले व्यावसायिक कृषि तथा पशु फार्मलाई ब्यवस्थित गर्न मङ्गला गाउँपालिकाले २ लाख रुपैयाँ सहयोग गरेको छ भने भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट घाँस काट्ने उपकरण अनुदान पाएका छन्।

पौडेलले एकजनालाई रोजगारी दिएका छन् भने बुवा तेजराज र आमा टीकाकुमारी पौडेलले पनि सहयोग गरेका छन्। स्थानीय सरकारले घर नजिक कृषि सडक पुर्‍याएपछि कृषकले उत्पादन गरेको तरकारी तथा फलफूल र खशी बोका बिक्रीका लागि बजार पठाउन सहज भएको छ।

 त्यसैगरी बेनी नगरपालिका २ ज्यामरुककोटका धु्रब थापाले पनि १६ वर्ष मलेशियामा बसेर गाउँ फर्केपछि गरेको व्यावसायिक तरकारी खेतीले उनको जीवनमा हरियाली फर्काएको छ। तरकारी बेचेर मात्रै मासिक ५० हजार भन्दा बढी आम्दानी गर्दै आउनुभएका थापाले करिब ७ रोपनी बारीमा मौसमी र बेमौसमी प्रजातिका विभिन्न तरकारीहरु लगाएका छन्। रासस


प्रकाशित : शनिबार, माघ २२ २०७८०७:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend