शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

म्याग्दीमा बंगुरको नश्ल सुधारका लागि कृत्रिम गर्भाधान सुरु

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत २२ २०८१
म्याग्दीमा बंगुरको नश्ल सुधारका लागि कृत्रिम गर्भाधान सुरु

बेनी नगरपालिका, मङ्गला, मालिका, धवलागिरि, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा पछिल्लो तीन वर्षयता बंगुरपालक किसानलाई परियोजनाले जोन कार्यक्रममार्फत सघाउँदै आएको छ।

म्याग्दी- बंगुरमा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बंगुर जोन कार्यक्रममार्फत बंगुरमा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको हो। 

परियोजनाका प्रमुख भरत गौतमले म्याग्दीमा पहिलोपटक मङ्गला गाउँपालिका-५ हाडेभिरका विमल सापकोटाको फार्ममा पालिएका बंगुरमा उच्च नश्लको कम बोसो भएको अमेरिकन नश्लको शुद्ध बंगुरको ताजा वीर्यबाट निःशुल्क कृत्रिम गर्भाधान सेवा सुरु गरिएको जानकारी दिए।

'राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरासँग समन्वय गरेर प्राविधिक गङ्गामति रोकाले कृत्रिम गर्भाधान गराउनुभएको हो', उनले भने, 'हाललाई सहज यातायात सुविधा भएका म्याग्दीका बंगुर फार्ममा यो सेवा उपलब्ध गराउँछौँ।'

उपयुक्त समय र विधि भएमा जमेको वीर्यभन्दा ताजा वीर्यबाट गर्भाधान दर उच्च (९० प्रतिशत) हुने परियोजना प्रमुख गौतमले बताए। पशु प्रजनन कार्यालय पोखराबाट बोसो कम हुने अमेरिकन नश्लको बंगुरको वीर्य निःशुल्क उपलब्ध गराइएको परियोजनाले जनाएको छ।

कृत्रिम गर्भाधान सेवाबाट स्थानीय जातका बंगुरको नश्ल सुधारमा सहयोग पुग्ने किसान सापकोटाले बताए। म्याग्दीमा यसअघि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र स्थानीय तहका पशु सेवा शाखाले गाईभैँसीमा कृत्रिम गर्भाधान सेवा सञ्चालन गरेका थिए।

बेनी नगरपालिका, मङ्गला, मालिका, धवलागिरि, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा पछिल्लो तीन वर्षयता बंगुरपालक किसानलाई परियोजनाले जोन कार्यक्रममार्फत सघाउँदै आएको छ। रासस


प्रकाशित : शुक्रबार, चैत २२ २०८११०:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend