शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

८ सिट क्षमताको १ हजार किलोमिटर चल्ने विद्युतीय कार

शनिबार, माघ २२ २०७८
८ सिट क्षमताको १ हजार किलोमिटर चल्ने विद्युतीय कार

यो कारको अधिकतम गति ३ सय किलोमिटर प्रतिघण्टा र शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति २ सेकेन्ड भेट्ने दाबी फ्रेस्कोले गरेको छ।

काठमाडौं- विद्युतीय कार उत्पादन र यसको प्रविधि विकासमा विश्वभर चासो उल्लेख्य रुपमा बढेको छ। शून्य प्रदूषण सवारी प्रयोगका निम्ती सबै जुरमुराइसकेका छन्। विश्वका गिनेचुनेका सवारी उत्पादकदेखि स्टार्टअपसम्म विद्युतीय सवारीको विकासमा केन्द्रित भएका छन्। 

यस्तैमा नर्वेको एक स्टार्टअप कम्पनीले नयाँ विद्युतीय कार ल्याउने भएको छ। नर्वेको विद्युतीय स्टार्टअप कम्पनी फ्रेस्कोले ८ सिट क्षमताको अल ह्वील ड्राइभ कार सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको उक्त कारले एकपटकको फुल चार्जमा १ हजार किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। 

एकपटकको फुल चार्जमा १ हजार किलोमिटर माइलेज दिने विद्युतीय कार सीमित संख्यामा मात्र सार्वजनिक भएछन्। ती मध्ये कुनै पनि कार व्यवासरिक बिक्रीका लागि भने बजारमा आइसकेका छैनन्। 

नर्वेको कम्पनी फ्रेस्को मोटर्सले केही समयअघि रिभरी नामक कन्सेप्ट कार सार्वजनिक गरेको थियो। कम्पनीले हालै सार्वजनिक गरेको विद्युतीय कारको नाम भने फ्रेस्को एक्सएल दिइएको छ। सेडान जस्तै देखिने यो कारमा मिनिभ्यान वा एमपीभीका विशेषताहरु समेत समावेस छन्। 

कम्पनीका अनुसार फ्रेस्को एसएलमा ४ वटा विद्युतीय मोटर, टूवे चार्जिङ पोर्ट र १ हजार किलोमिटर रेन्ज दिने ठूलो ब्याट्री प्रयोग गरिएको छ। यस बाहेक फ्रेस्कोले कारका बारेमा धेरै कुरा खुलाएको छैन। फ्रेस्काले सामाजिक सञ्जालमा कारको सानो भिडियो मात्र सार्वजनिक गरेको छ। यसरी भिडियो सार्वजनिक गर्नुको मुख्य कारण कार बारे उपभोक्तालाई प्रारम्भिक जानकारी दिनु रहेको छ। 

यद्यपी फ्रेस्कोले एक्सएल विद्युतीय कारको अडर भने खुल्ला गरेको छ। कम्पनीले यो कारको मूल्य १ लाख युरो तोकेको छ। यो ८ सिटर विद्युतीय कारको डिजाइन नर्वेका ईभी स्टार्टअप फ्रेस्कोका सीईओ तथा अध्यक्ष स्पेन केभल्भिकले गरेका हुन्। 

यो कारको अधिकतम गति ३ सय किलोमिटर प्रतिघण्टा र शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति २ सेकेन्ड भेट्ने दाबी फ्रेस्कोले गरेको छ। यो कार कहिलेदेखि व्यवसायिक बिक्रीका लागि बजारमा आउँछ भन्ने कुरा भने कम्पनीले खुलाएको छैन।  


प्रकाशित : शनिबार, माघ २२ २०७८०८:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend