शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

फक्सवागनले २०२३ देखि चीनबाटै वार्षिक १० लाख ईभी उत्पादन गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २१ २०७८
फक्सवागनले २०२३ देखि चीनबाटै वार्षिक १० लाख ईभी उत्पादन गर्ने

जेएसीसँगै फक्सवागनले अन्य दुई चिनियाँ कम्पनी एफएडब्लू ग्रुप र एसएआईसी मोटरसँग समेत साझेदारी गरेको हो।

काठमाडौं- जर्मन कार उत्पादक कम्पनी फक्सवागनले विद्युतीय सवारी उत्पादनलाई उच्च प्राथमिकता दिइरहेको छ। त्यही अनुरुप फक्सवागनले चिनियाँ बजारमा विद्युतीय कार उत्पादनमा केन्द्रित भएको छ। फक्सवागनले २०२३ देखि चीनबाट मात्रै वार्षिक १० लाख विद्युतीय कार उत्पादन गर्ने घोषणा गरेको हो। 

चीनको अन्ह्वी प्रान्तमा बन्ने फक्सवागनको नयाँ प्लान्टका बारेमा फक्सवागन प्यासेन्जर कार ब्रान्डका सीईओ रोल्फ ब्रान्डस्टेटरले उक्त कुरा निक्कीलाई बताएका हुन्।

फक्सवागनले सो प्लान्ट चिनियाँ कम्पनी जेएसीसँगको साझेदारीमा बनाउन लागेको हो। २०१९ मा साझेदारी घोषणा गर्दा सो प्लान्टबाट वार्षिक ३ लाख विद्युतीय कार उत्पान गर्ने भनिएको थियो। 

यी दुई साझेदार २०२३ देखि नै विद्युतीय कार उत्पादन गर्ने तर उत्पादन क्षमता बढाउन सहमत भएका हुन्। जेएसीसँगै फक्सवागनले अन्य दुई चिनियाँ कम्पनी एफएडब्लू ग्रुप र एसएआईसी मोटरसँग समेत साझेदारी गरेको हो। तीन चिनियाँ कम्पनीसँगको साझेदारीपछि फक्सवागनले चीनमा २०२३ बाट वार्षिक १० लाख विद्युतीय कार उत्पादन गर्न सक्ने बताएको हो। 

जर्मन कार उत्पादक फक्सवागनले २०२१ मा चीनमा ७० हजार ६ सय २५ वटा आईडी विद्युतीय कार बिक्री गरेको थियो। तर फक्सवागनले सो वर्ष चीनमा ८० हजारदेखि १ लाख आईडी बिक्री गर्ने लक्ष्य राखेको थियो।

फक्सवागनले गरेको प्रयत्नका बाबजुत कोरोना महामारी र सेमिकन्डक्टर अभावका कारण लक्ष्यीत उपलब्धी हासिल हुन नसकेको फक्सवागनका चीन प्रमुख स्टेफन उल्टिनले बताएको रोयटर्सले लेखेको छ। 


प्रकाशित : शुक्रबार, माघ २१ २०७८०३:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend