शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

रैथाने अन्नबालीको प्रवर्द्धनमा भीमफेदी, अनुदान कार्यक्रम ल्याएसँगै कोदोखेतीमा कृषक आकर्षित

सोमबार, चैत ४ २०८१
रैथाने अन्नबालीको प्रवर्द्धनमा भीमफेदी, अनुदान कार्यक्रम ल्याएसँगै कोदोखेतीमा कृषक आकर्षित

भीमफेदी गाउँपालिकाले रैथाने बाली कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी ५५ रूपैयाँ तोकेको छ।

मनहरी- मकवानपुरको भीमफेदी गाउँपालिकाको रैथाने जातका अन्नबालीको प्रवर्द्धन कार्यक्रम लागु भएसँगै कोदोखेतीतर्फ कृषक आकर्षित भएका छन्। सो पालिकाले आव २०८१/८२ मा रैथाने बाली प्रोत्साहनका लागि नगद अनुदान कार्यक्रमअन्तर्गत ३५ लाख रूपैयाँ विनियोजन गरेको छ।

दुई रोपनीभन्दा बढी जग्गामा कोदो, फापरजस्ता रैथाने जातका अन्नबालीको खेती गर्ने ४ सय २४ कृषकलाई उत्पादनका आधारमा अधिकतम २७ हजार ८०० सम्म प्रोत्साहन रकम बाँडिएको पालिकाका कृषि शाखा प्रमुख उज्ज्वल राना मगरले जानकारी दिए।

पालिकाका ४ सय ५१ जना कृषकले दुई हजार ५१० रोपनी जग्गामा कोदोखेती गर्न यस वर्ष निवदेन दिएका थिए। उक्त जग्गामा करिब २५५ मेट्रिक टन कोदो उत्पादन हुने पालिकाले जनाएको छ।

समग्र गाउँपालिकाभरि पाँच हजार १३ रोपनी क्षेत्रफलमा कोदोखेती हुने र त्यसमा ५०९ मेट्रिक टनसम्म कोदो उत्पादन हुने अनुमान गरिएको कृषि शाखा प्रमुख राना मगरले जानकारी दिए। यसैगरी, भीमफेदी गाउँपालिकाले रैथाने बाली कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी ५५ रूपैयाँ तोकेको छ।

सो गाउँपालिकामा आर्थिक वर्ष २०८०/८१ देखि यो कार्यक्रम सुरु गरे पनि आर्थिक वर्ष २०८१/८२ बाट कृषि कार्यक्रम सञ्चालनसम्बन्धी निर्देशिका, २०८१ बनाएर सञ्चालन गरेको हो।

रैथाने खेतीबाली प्रोत्साहनका लागि नगद अनुदान कार्यक्रमअन्तर्गत चालु आवका लागि ३५ लाख रूपैयाँ विनियोजन गरेको जानकारी दिँदै गाउँपालिकाका अध्यक्ष हिदम लामाले यसबाट परम्परागत एवं रैथाने बालीका रुपमा परिचित कोदोखेतीको प्रवर्द्धन तथा व्यावसायिक उत्पादनमा सहयोग पुग्ने र स्थानीय किसानको मनोबल बढ्ने विश्वास व्यक्त गरे। रासस


प्रकाशित : सोमबार, चैत ४ २०८११३:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend