शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

जुम्लामा भेडापालन प्रवर्द्धन गर्न गोठालो भत्ता

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत ४ २०८१
जुम्लामा भेडापालन प्रवर्द्धन गर्न गोठालो भत्ता

जुम्लाका आठवटै स्थानीय तहमा ८८ हजार तीन सयभन्दा धेरै भेडा पालिएका छन्। प्रोत्साहन भत्ताबापत् १८ हजार पाएपछि थप भेडापालनमा टेवा पुगेको छ।

जुम्ला- जुम्लाका २ सय ३० जना भेडापालक किसानलाई गोठालो भत्ता वितरण गरिएको छ। 

यहाँका आठवटै स्थानीय तहका भेडापालक किसानलाई ५० भन्दा बढी भेडा पाल्ने किसानलाई प्रोत्साहन बापत् गोठालो भत्ता प्रदान गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले जानकारी दिए। 

जिल्लाका भेडापालक किसानलाई कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट चालु आर्थिक वर्षका लागि ४५ लाख रुपैयाँ प्रोत्साहन भत्ता कार्यक्रमका लागि बजेट विनियोजन गरेको थियो।

मन्त्रालयको कार्यविधिअनुसार फर्म दर्ताको प्रमाणपत्रसहित करचुक्तासम्बन्धी वडाको सिफारिस, कार्यालयबाट भएको अनुगमनको आधारमा यहाँका दुई सय ३० जना भेडापालक किसानलाई १८ हजारका दरले प्रोत्साहन स्वरुप भत्ता वितरण गरिएको कार्यालय  प्रमुख बुढ्थापाले बताए। 

जुम्लामा भेडा मात्र पाल्ने किसान करिब एक हजार सात सयभन्दा बढी छन्। यहाँका आठवटै स्थानीय तहमा ८८ हजार तीन सयभन्दा धेरै भेडा पालिएका छन्। प्रोत्साहन भत्ताबापत् १८ हजार पाएपछि थप भेडापालनमा टेवा पुगेको छ।

आर्थिक अभावले व्यवसायलाई असर परेको थियो। सरकारले भेडापालक किसानका लागि भनेर आर्थिक सहयोग दिन थालेपछि थप व्यवसाय गर्न सहज भएको ५० वटा भेडापालक किसान सिँजा गाउँपालिका-६ का सुवा रावतको भनाइ छ।

सबैभन्दा बढी तातोपानी गाउँपालिकाका किसानले भेडा पालेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले जनाएको छ। रासस


प्रकाशित : सोमबार, चैत ४ २०८११०:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend