आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

विदेशबाट फर्किएर स्वरोजगार, सागसब्जी बेचेर मासिक एक लाख रुपैयाँसम्म आर्जन

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन २८ २०८१
विदेशबाट फर्किएर स्वरोजगार, सागसब्जी बेचेर मासिक एक लाख रुपैयाँसम्म आर्जन

अनुदानसँगै तालिम पनि पाएमा कीरा नियन्त्रण गर्न सजिलो हुने उनी बताउँछन्। गोलभेँडाखेतीमा सही प्रविधि र सरकारी सहयोगसँगै बजार व्यवस्थापन राम्रो भयो भने अझ व्यावसायिक रूपमा राम्रो खेती गर्न सकिन्छ।

सुनसरी- प्रत्येक दिन रोजगारीको खोजीमा सयौँ युवा विदेशिने गरेका छन् भने केही भने विदेशबाट फर्किएर स्वदेशमा नै व्यवसायी बनेका छन्। विदेशबाट फर्किएर नेपालमा स्वरोजगार बनेको एक उदाहरण हुन् रामधुनी नगरपालिका-२ कालीझोडाका किसान सुरकुमार राई।

११ वर्ष विदेशमा श्रम गरेर स्वदेश फर्किएका उनले ३० हजार रुपैयाँ लगानीमा सुरु गरेको सागसब्जीखेतीबाट वार्षिक १२ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। 

२०७६ सालमा रामधुनी कृषि फार्म दर्ता गरेर अहिले १२ कट्ठा जमिनमा गोलभेँडाखेतीसँगै अन्य सागसब्जीखेती गरिरहेएका सोलुखुम्बुका उद्यमी राईले मलेसिया र सिङ्गापुरमा आर्जन गरेको रकमबाट इलम थालेको बताए।

उनको बारीमा गोलभेँडासँगै बोडी, सिमीलगायत सागसब्जी लहलहाएका छन्। उहाँको बारीमा दैनिक ज्यालादारीमा  तीन जना कार्यरत छन्।

उनले भने, 'अहिले गोलभेँडाको सिजन अलि कम हुँदै गएका कारण तीनजना मात्र कामदार राखेको छु, गोडमेल, मल हाल्ने मुख्य सिजनको समयमा १० जनासम्म कामदार राख्ने गरेको छु। मैले उत्पादन गरेको सागसब्जी बिक्रीका लागि बजार लानु पर्दैन, बजारको समस्या छैन खरिद गर्न व्यापारी आफैँ फार्ममा आउनुहुन्छ। धरान, इटहरी, गाईघाट, दमक बराहक्षेत्रका व्यापारी फार्ममा नै गोलभेँडा खरिद गर्न आउने गरेका छन्।'

गोलभेँडाको मूल्य मङ्सिरदेखि पुससम्म राम्रो हुन्छ जुन समय ४५ देखि ६० रुपैयाँसम्ममा फार्मबाटै व्यापारीले खरिद गरेर लाने गरेकामा अहिले भने बजारमा गोलभेँडाको मूल्य घटेको कारण १० देखि १५ रुपैयाँमा बिक्री गर्नुपरेको उनले बताए।

प्लाष्टिक टनेलमा गोलभेँडाखेती गरेका उनी यसो गर्दा उत्पादन बढ्ने बताउँछन्। गोलभेँडाखेती सुरु गरेको वर्ष स्थानीय सरकारबाट उत्कृष्ट किसानका रूपमा पुरस्कृत भएपछि उनले पछाडि फर्केर हेर्नु परेको छैन। 

गोलभेँडा आठ महिना उत्पादन हुन्छ, सिजनमा दैनिक १४ क्विन्टलसम्म बिक्री हुने गरेको उनले बताए। एक सिजनमा उनले तीन हजार क्विन्टलसम्म गोलभेँडा बिक्री गर्दै आएका छन्।

नीय सरकारले प्रत्येक वर्ष अनुदानस्वरुप गोलभेँडाको बीउ, मल प्रदान गर्ने गरेको छभने कृषि ज्ञान केन्द्रले २०७७ सालमा दिएको सात लाख रुपैयाँ अनुदानले गोलभेँडाखेती विस्तार गर्न सहयोग पुगेको बताए। 

अनुदानसँगै तालिम पनि पाएमा कीरा नियन्त्रण गर्न सजिलो हुने उनी बताउँछन्। गोलभेँडाखेतीमा सही प्रविधि र सरकारी सहयोगसँगै बजार व्यवस्थापन राम्रो भयो भने अझ व्यावसायिक रूपमा राम्रो खेती गर्न सकिन्छ।

जिल्लामा हाल आठ हजार एक सय ५३ हेक्टरमा सागसब्जीखेती हुँदै आएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठले बताउँछन्।  रामधुनीका साथै बराह क्षेत्रलगायत स्थानका किसानले गोलभेँडा, बन्दाकोबी र बोडीखेती गर्दै आएका छन्। रासस


प्रकाशित : बुधबार, फागुन २८ २०८११०:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend