आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

सामूहिक कृषिमा ताप्लेजुङका किसान, १२ परिवार मिलेर १ सय ४० रोपनीमा मकैखेती

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन २८ २०८१
सामूहिक कृषिमा ताप्लेजुङका किसान, १२ परिवार मिलेर १ सय ४० रोपनीमा मकैखेती

ताप्लेजुङ- जिल्लाका किसान क्रमशः सामूहिक खेतीप्रति आकर्षित भएका पाइएको छ। मिक्वाखोला गाउँपालिका-२ का किसानले सूर्यज्योति कृषक समूह गठन गरी सामूहिक मकैखेती थालेका हुन्। १२ परिवारले १ सय ४० रोपनीमा मकैखेती गरिरहेका छन्। 

स्थानीय किसान इन्द्रकुमारी तामाङका अनुसार पारम्परिकबाट सामूहिक खेतीतर्फ रूपान्तरण हुँदै गएका किसान आफ्नो इच्छाअनुसार फरक-फरक प्रकारका बालीनाली लगाउने गर्थे। कसैले आलु, कसैले धान, कसैले कोदो वा मकैखेती गर्थे। तर अहिले भने योजनाबद्ध रूपमा सामूहिक खेती गर्ने प्रवृत्ति बढ्दै गएको छ। 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले मकै जोन कार्यक्रमअन्तर्गत चक्लाबन्दी योजनाबाट ५० प्रतिशत अनुदान दिएपछि किसानले सामूहिक मकैखेती थालेका हुन्।

कृषक समूहका सचिव दिवाकर बस्नेतका अनुसार  एक सय ४० रोपनीमा माटोको गुणस्तर परीक्षण गरेर खेती थालिएको हो। समूहले सामूहिक खेतीका निम्ति १६ लाख रुपैयाँ लगानी गरेको छ। कुल लागतको ५० प्रतिशत किसानले बाँकी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाइले अनुदान प्रदान गरेको छ।

रामपुर हाइब्रिड १६ र मनकामना-३ प्रजातिका उन्नत जातका लगाइएको छ। परियोजनाका प्रमुख काशीराम पाण्डेका अनुसार चक्लाबन्दी कार्यक्रमअन्तर्गत किसानलाई आधुनिक कृषियन्त्र प्रयोग गर्ने ज्ञान, खेती गर्ने प्रविधिबारे जानकारी दिइने गरेको छ। 

सूर्यज्योति कृषक समूहका अध्यक्ष देवेन्द्र गुरागाईँका अनुसार सामूहिक खेतीका सदस्य आगामी वर्षहरूमा मकै उत्पादनलाई अझ व्यावसायिक बनाउने योजनामा छन्।

स्थानीय बजारसँगै राष्ट्रिय बजारमा मकै बिक्री गर्ने तथा अन्य आधुनिक कृषि प्रविधि पनि अपनाउने सोचमा उनीहरु छन्। कृषि पर्यटन प्रवर्द्धन गर्दै अन्य किसानलाई समेत सामूहिक खेतीप्रति आकर्षित गर्ने समूहको लक्ष्य छ। रासस


प्रकाशित : बुधबार, फागुन २८ २०८११०:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend