आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

पहिले खेतीपाती नगर्ने फिरन्ते वनकरिया समुदाय अहिले रोप्दै छन् चैते धान

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन २६ २०८१
पहिले खेतीपाती नगर्ने फिरन्ते वनकरिया समुदाय अहिले रोप्दै छन् चैते धान

विष्णु वनकरिया पनि अहिले चैते धान रोप्न व्यस्त छन्। उनको हालको दैनिकी आफ्नो खेतमा धान रोप्ने मात्र होइन समुदायका सदस्यकामा मेलापर्म गरेर बित्ने गरेको छ।

हेटौँडा- मकवानपुरको मनहरी गाउँपालिका लोपोन्मुख वनकरिया समुदायले चैते धान रोप्न सुरू गरेका छन्। डेढ दशक अगाडिसम्म खेतीपाती नगर्ने फिरन्ते यो समुदाय हाल खेतीपाती र पशुपालनमा व्यस्त हुन थालेका हुन्। 

खेतमा धान राप्दै गरेकी सुन्तली वनकरियाले हरेक वर्ष करिब पाँच क्विन्टल चैते धान भित्र्याउने गरेको बताइन्। उनका अनुसार पानी कम हुने भएकाले जम्मा तीन कठ्ठामा मात्र चैने धान रोप्ने गरिएको छ भने समुदायमा सबैले करिब आफ्नो जग्गाको आधा जग्गामा मात्र चैते धान रोप्ने गरेका छन्। 

चैते धानले उक्त समुदायलाई चार महिना सजिलै पुग्ने सुन्तलीको भनाइ छ। उनी भन्छिन्, 'हाम्रो सासू, ससुराले धान रोप्ने गर्नुहुन्थ्यो, किनकी उहाँहरू जङ्गलमा बस्ने गर्नुहुन्थ्यो, तर अहिले हामीलाई करिब खान पुग्ने खेती हामी गर्छौं', उहाँ थप्नुहुन्छ, 'हामी धान, मकै, आलु र तरकारीखेती गर्छौं, भैँसी र बाख्रा पालेका छौँ।'

उनको दुई छोरा, श्रीमानसहित चार जनाको परिवार छ। खानका लागि खेतीले पुग्ने र बच्चा पढाउन र अन्य खर्चको जोहो गर्न भने कमाउन जानुपर्ने बाध्यता रहेको उनी बताउँछिन्।

त्यसैगरी चार छोरी र तीन छोरासहित ठूलो परिवार रहेको विष्णु वनकरिया पनि अहिले चैते धान रोप्न व्यस्त छन्। उनको हालको दैनिकी आफ्नो खेतमा धान रोप्ने मात्र होइन समुदायका सदस्यकामा मेलापर्म गरेर बित्ने गरेको छ। बाहिरबाट काम गर्नको लागि कोही पनि नबोलाउने भएका कारण उहाँहरू एक अर्काको पर्म गर्ने गरेको उनी बताउँछन्।

समुदायकी मुखिया सन्तमाया वनकरियालाई पनि चैते धान रोप्न भ्याइनभ्याइ छ। उनी बिहान सबेरै उठेर बीउ काट्ने गर्छन्। बालबालिका विद्यालय गइसकेपछि पालैपालो धान रोप्ने गरेको उनी बताउँछन्।

जेटिए अध्ययन गरेर गाउँमा नै सेवा गरिरहेकी सन्तोषी वनकरियालाई अहिले रोपिरहेको धान भित्र्यादाको खुसीभन्दा पनि धान रोपिरहेको जमिनको स्वामित्व स्थायीरूपमा हस्तान्तरण नभएको चिन्ता लाग्ने गरेको छ। आफू वनमा जन्मेको भए पनि बालापन बिताएको उक्त बस्तीको जमिन आफूहरूको लागि तत्कालीन अवस्थामा बीस वर्षलाई मात्र दिएको र उक्त समय सकिन लागेको कारण आफू चिन्तित भएको उनको भनाइ छ।

उनका अनुसार समुदायलाई विसं २०६२ मा तत्कालीन जिविसले सामुदायिक वनको छेउमा २० वर्षको लागि जग्गा दिएर बस्ती बसाएको करिब १९ वर्ष भएको छ। 

वनमरिया समुदायले १८ वर्ष अगाडिसम्म खेती गर्न नजानेको र बालबालिकालाई पनि गाईभैँसीको दूध खुवाउने चलनसमेत नभएको समुदायकी मुखिया सन्तमायाको भनाइ छ। उनका अनुसार तत्कालीन समयमा गिठ्ठा, भ्याकुर, च्याउ, खनायो, कुरिलो माछा खाएर जीवन धान्ने गरिन्थ्यो, भने हाल खेतीपाती र पशुपालनबाट खानको लागि पुग्ने गरेको छ। रासस


प्रकाशित : सोमबार, फागुन २६ २०८११५:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend