आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

आलु खेतीबाट राम्रो आम्दानी लिँदै धनगढीका किसान

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन २६ २०८१
आलु खेतीबाट राम्रो आम्दानी लिँदै धनगढीका किसान

'यस वर्ष आठ क्विन्टल जति उत्पादन भएको छ। अहिले मूल्य घटेकाले बेचेका छैनौँ। मूल्य बढेपछि बिक्री गर्छौँ।'

कैलाली- यहाँका किसानले स्थानीय जातको थारुआलु खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन्। पछिल्लो समयमा यहाँका सयौँ किसानले थारुआलुबाट राम्रो आम्दानी गर्न थालेका हुन्।

धनगढी उपमहानगरपालिका-६ शान्तिटोलका शेरुराम चौधरीले थारुआलु बिक्रीबाट यस वर्ष तीन लाख रुपैयाँ आम्दानी लिएको बताए। उनले यस वर्ष आठ कठ्ठामा आलु खेती गरेका थिए।

४० क्विन्टल आलु उत्पादन गर्नुभएका उनले भने 'अझै २० क्विन्टल आलु बेच्न बाँकी छ। यस वर्ष आलु राम्रो फलेको थियो। समयमै आलु निकालेकाले मूल्य राम्रो पाइयो। प्रतिकिलो एक सय ५० रुपैयाँमा बिक्री गरियो।'

उनका अनुसार यस जातका आलु खानलाई पनि स्वादिलो र लामो समय भण्डारण गरेर राख्दा बिग्रिने डर हुँदैन। उनले तरकारी खेती समेत गर्ने गरेको बताए। उनले भने, 'सिजनअनुसारको तरकारी लगाउँछु। तरकारीखेती र आलुबाट सबै खर्च कटाएर वार्षिक ६ लाखसम्म बचत हुन्छ। तरकारी खेतीबाटै चार जनाको परिवारको घरखर्च र छोराछोरीको पढाइलेखाइ खर्च धानेको छु।'

सोही ठाउँका पतिराम चौधरीले यस वर्ष २५ क्विन्टल थारुआलु उत्पादन गरेको बताए। उनले भने, 'मैले यस वर्ष सात कठ्ठा जग्गामा थारु आलु लगाएको थिएँ। आठ क्विन्टल बेचेको छु। बाँकी अब असारतिर बेच्ने गरी राखेको छु। २० क्विन्टलसम्म बिक्री गर्छौँ। बाँकी आफूले खान र बीउका लागि राख्छौँ।' 

उनले पनि आलुखेतीसँगै तरकारी खेती समेत गर्ने गरेको बताए। उनले तरकारी र थारु आलु बिक्रीबाट वार्षिक तीन लाखसम्म बचत गर्ने गरेका छन्। माग बढ्न थालेपछि लगाउन छाडिएको थारुआलु पछिल्लो समय लगाउन थालिएको उनको भनाइ छ।

सोही ठाउँका स्थानीय रवि चौधरीले यस वर्ष चार कठ्ठामा थारुआलु खेती गरेको बताए। उनले भने, 'यस वर्ष आठ क्विन्टल जति उत्पादन भएको छ। अहिले मूल्य घटेकाले बेचेका छैनौँ। मूल्य बढेपछि बिक्री गर्छौँ।' उनले तरकारी तथा थारुआलु बिक्रीबाट वार्षिक दुई लाख आम्दानी हुने गरेको बताए। रासस


प्रकाशित : सोमबार, फागुन २६ २०८१११:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend