आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

पानी नपर्दा चितवनमा केरा उत्पादनमा ढिलाइ

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २३ २०८१
पानी नपर्दा चितवनमा केरा उत्पादनमा ढिलाइ

अहिले चितवनमा प्रतिहेक्टर ३७ मेट्रिकटन केरा उत्पादन हुँदै आएको छ। यहाँ उत्पादन भएको केरा राजधानी काठमाडौंसहित छिमेकी जिल्लाका मुख्य सहरमा पुग्ने गर्दछ।

चितवन- समयमा पानी नपरेपछि केरा उत्पादनमा ढिलाइ हुने देखिएको छ। राम्रो सिँचाइको व्यवस्था भएको ठाउँको उत्पादन हुने तयारी छ भने आकासे सिँचाइको बढी भर पर्नुपर्ने ठाउँमा उत्पादन केही ढिलाइ हुने देखिएको हो। 

प्रधानमन्त्री कृषि आधुनिकीकरण कृषि परियोजना कार्यान्वयन एकाइ चितवनका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गानाका अनुसार चैत महिना लागेसँगै उत्पादन हुने केरा यस वर्ष केही दिन ढिलो हुने देखिएको छ। करिब १५ देखि २० दिनपछि केरा बजारमा बिक्री गर्न तयार हुने देखिएको उनको भनाइ छ। 

ढुङ्गानाले भने, 'आफ्नै राम्रो सिँचाइ भएको ठाउँको केरा बजारमा बिक्री गर्न मिल्ने अवस्थामा पुगेको छ, सिँचाइ नभएको ठाउँको केही दिन लाग्ने देखिएको छ।'

किसानले बिरुवा छोड्न केही ढिलाइ गर्दा पनि उत्पादन लिन ढिलो हुने अवस्था आएको उनको भनाइ छ। 

जिल्लामा चैत १५ देखि कात्तिक मसान्तसम्म केरा राम्रो उत्पादन हुने गर्दछ। मालभोग, चिनी चम्पा र जी-९ जातका केरा व्यावसायिक रुपमा खेती गरिँदै आइएको छ। जी-९ वर्षभर नै उत्पादन हुने गर्दछ भने अन्य जातको चैतदेखि उत्पादन लिन सुरु गरिन्छ।

जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकाका पूरै भाग केराका सुपरजोन हुन् भने भरतपुर महानगरपालिका, कालिका र राप्ती नगरपालिकाका आंशिक भाग सुपरजोनमा पर्दछन्।  

जिल्लामा हाल दुई हजार २०५ हेक्टर क्षेत्रफलमा केरा लगाइएको छ। यहाँ ७०० किसानले केराखेती गर्दै आएका छन्। त्यसमध्ये व्यावसायिक किसान ३५० रहेको कार्यालयले जनाएको छ। 

अहिले चितवनमा प्रतिहेक्टर ३७ मेट्रिकटन केरा उत्पादन हुँदै आएको छ। यहाँ उत्पादन भएको केरा राजधानी काठमाडौंसहित छिमेकी जिल्लाका मुख्य सहरमा पुग्ने गर्दछ। रासस


प्रकाशित : शुक्रबार, फागुन २३ २०८११४:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend