आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

विदेशबाट फर्केर पशुपालनसँगै मौरीपालनमा रमाइरहेका मनराज, राम्रो छ आम्दानी

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २३ २०८१
विदेशबाट फर्केर पशुपालनसँगै मौरीपालनमा रमाइरहेका मनराज, राम्रो छ आम्दानी

मनराजले मौरीपालनमा राम्रो आम्दानी हुने देखेपछि एक वर्ष अगाडि चार घार मौरी किनेर सुरू गरेका छ। अहिले उनीसँग ४० घार बढी मौरी रहेका छन्।

सुनसरी- करिब एक दशक लामो वैदेशिक जीवन बिताएर स्वदेश फर्किएर व्यावसायिक पशुपालन र मौरीपालनमा रमाइरहेका इटहरीका किसान मनराज राम्रो आम्दानी भइरहेको बताउँछन्।

इटहरी उपमहानगरपालिका-१९ का मनराज पुरी आठ वर्ष साउदी र मलेसियामा काम गरेर स्वदेश फर्किएका हुन्। उनले सानो लगानीबाट पशुपालन र मौरीपालनमा गरेका थिए। अहिले त्यही व्यवसाय ठूलो आम्दानीको स्रोत बनेको उनी बताउँछन्।
 
आफूले १७ वर्षको उमेरमा बाबुआमा गुमाएको सुनाउँदै मनराजले भने, 'विदेशमा गएर दुःख र मेहेनत गरेर कमाएको थोरै पैसा आफ्नो देशमा लगानी गरेर केही व्यवसाय सुरू गरौँ भन्ने सोच राखे, अरू बिजनेस गर्ने सोच भए पनि तरिका खासै नभएका कारण पशुपालनमा लगानी गरेर सुरू गरेँ।'

गाईबाख्राबाट व्यवसाय सुरू गरेका उनले पछिल्लो समय मौरीपालन सुरू गरेका छन् । अहिले मौरीबाट राम्रो आम्दानी भइरहेको उनी भन्छन्। 'यो व्यवसायले आफू आत्मनिर्भर बनेको जस्तो महसुस भएको छ, आफ्नो व्यवसायले दिने जति आनन्द अरूको नोकरी गर्दा पाइँदैन', उनले भने, 'अहिले यही व्यवसायबाट वार्षिक रूपमा रू आठदेखि नौ लाखसम्म कमाइ हुने गरेको छ, घरव्यवहार सबै यही कमाइले पुगेको छ।'
 
व्यावसाय सुरू गर्दा चुनौती र अवसर त हुन्छन् नै। गाईपालन गर्दा दूध उत्पादन गरी बिक्री गर्न गाह्रो पो होला बजार नपाइएला भन्ने लागेको थियो तर निकै सहज भएको उनको बुझाइ छ। 'अहिले दैनिक रूपमा ४० देखि ५० लिटरसम्म दूध आफैँले स्थानीय बजार होटल र डेरीमा बिक्रीका लागि पुर्याउने काम गरिरहेको छु', मनराज भन्छन्। 

उनले अगाडि भने, 'विदेशमा गएर अर्काको दुःख गर्नुभन्दा आफ्नै देशमा सानोतिनो लगानी गरेर भए पनि राम्रो आम्दानी गर्न सकिन्छ। गाउँमै रोजगारीको सिर्जना पनि हुने अरूलाई पनि रोजगार दिन सकिने आफू लागि पनि रोजगार हुने।' 

मनराजले पशुपालन व्यवसाय सुरू गरेसँगै गाईफार्ममा दुई जना कामदार राखेका थिए। गाउँमै रोजगार दिन पाउँदा आफूलाई गर्व महसुस भएको उनी बताउँछन्। 'आठ वर्षदेखि उनीहरूले काम गर्दै आउनुभएको छ, महिनामा रू २२ हजार काम गरेबापतको तलब दिने गरेको थिए', पुरीले भने, 'पछिल्लो केही महिनाअघि उनीहरूले काम छाडेपछि अहिले हामी आफैँ परिवार मिलेर व्यवसाय सञ्चालन गरिरहेका छौँ।'

'गाई र खसीबाख्रालाई दिने घासको खासै दुःख छैन, आफैले गाईलाई दिने घाँस आफ्नै बारीमा रोपेका छौँ', उनले भने, 'एक बिघा बढी जग्गामा धानखेती गर्ने गरेका छौँ। त्यहाँबाट गाईका लागि पराल घाँस आउँछ, घासँको दुःख हुँदैन घाँस बाहिरबाट खासै खरिद गर्न परेको छैन।' उनीका अनुसार खसीबाख्राचाहिँ अझ केही चरन र डालेघाँस बढाएर पाल्न सकियो भने सम्भावना राम्रो छ। 

मनराजले मौरीपालनमा राम्रो आम्दानी हुने देखेपछि एक वर्ष अगाडि चार घार मौरी किनेर सुरू गरेका छ। अहिले उनीसँग ४० घार बढी मौरी रहेका छन्। उनले भने, 'सुरूमा हेर्दा मौरीबाट के आम्दानी होला र जस्तो लाग्ने तर विस्तारै घार बढाउँदै लगेँ र यहाँबाट राम्रो आम्दानीको सम्भावना देखेपछि अहिले मौरीपालनलाई अझ बढी प्राथमिकता दिएर सञ्चालन गरिरहेको छु।'

'मौरीपालन अरूले गरेको देखेर सुरू गरेको हुँ, सम्भावना पनि राम्रो देखेको छु', उनले भने, 'मौरी फूलको सिजनमा भने धेरै उत्पादन गर्न सकिन्छ २२ देखि ३० दिनमा मह काढ्न मिल्छ, उत्पादन पनि धेरै हुन्छ।' फूल फुल्ने सिजन र स्रोत नहुँदा भने कहिले तीन महिनासम्म समय लाग्ने गरेको उनी अनुभव सुनाउँछन्। 

मनराजले मौरीको घार गोटाको १४ हजारमा खरिद गरेर पालिरहेका छन्। एउटा घारमा एक पटक मह काढ्दा छ केजीसम्म उत्पादन हुने गरेको उनले बताए। उनले भने, 'बिक्रिका लागि इटहरीकै स्थानीय बजारमा बिक्री गर्दै आएको छु।'

गाउँमै मौरीपालन र परामर्श तालिम किसानले लिन पाए भने मौरीपालनबाट राम्रै आम्दानी गर्न सकिन्छ। गाउँमा नै उत्पादन गरिएको अग्र्यानिक मह बिक्री गरी राम्रो मूल्य लिन सकिने उनको अनुभव छ। अहिले उनले मह प्रतिकेजिसात सय ५० देखि एक हजार रुपैयाँसम्ममा घरबाट नै बिक्री गर्ने गरेको बताए  

मौरीपालन कम लगानीबाट पनि सुरू गर्न सकिन्छ। लगानी गरेर यसलाई राम्रो दिगो आम्दानीका रूपमा गर्न सकिने व्यवसायका रूपमा लिन सकिन्छ।

राम्रो व्यवस्थापन बजारको अध्ययनसँगै आधुनिक प्रविधिसँगै सरकारबाट राम्रो अनुदान पाउनसके मौरीपालनबाट पनि आम्दानीको सम्भावना बढ्दै जाने उनको भनाइ छ। रासस


प्रकाशित : शुक्रबार, फागुन २३ २०८१०९:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend