शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

आलुका बोट सप्रिएपछि रसुवाका किसान खुसी

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ १८ २०७८
आलुका बोट सप्रिएपछि रसुवाका किसान खुसी

रसुवा- दक्षिणी भेगका खेतीयोग्य जमिनमा लगाइएका हिउँदे आलुको बोट सप्रिएपछि यहाँका किसान खुसी भएका छन्। धान उत्पादनपश्चात् गत मङ्सिरमा रोपिएका आलु गोडमेल गर्दा जरामा राम्रोफल भेटिएपछि किसानमा उत्साह बढेको हो। उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकाअन्तर्गत तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने हजारौँ किसान आलुखेतीमा सहभागी हुँदै आएका छन्।

पहिरेबेँसी, बनुवा, मनिगाउँ, पहिरे, कुडुल्ले, गिद्धेखोला, जिबजिबे, गैरीगाउँ, रूप्सेपानी, भदौरे, सरमथली, दनुस्वारा, लगायतका फलाखु खोला, धोवी खोला, अँधेरी खोला एवं पाहाखोलाको पानीले पौँच पुग्ने क्षेत्रका आसपासमा आलु रोप्ने किसानले प्राथमिकता दिँदै आएका छन्।

दक्षिणी भेकका अधिकांश  खेतबारीमा आलुको साथसाथै हिउँदे तरकारी रोप्नसमेत जागरण आइसकेको छ। यो वर्षको उत्पादित आलु बिक्रीबाट तीन करोड रूपैयाँ आय हुनसक्ने स्थानीय किसानले अनुमान गरेका छन्।

आलुका अतिरिक्त दैनिक जीविकोपार्जन सहज हुने गहुँ, तोरी, मुला, बन्दा, काउली, हरिया साजसब्जी जस्ता तरकारीमा पनि जागरण बढिरहेको बनुवाका विष्णुप्रसाद आर्चायले बताए।

आफ्नै खेतबारीमा अर्गानिक तरिकाले उत्पादन गरिएका  थोरबहुत हिउँदे तरकारी बिक्रीको प्राप्त आयबाट अधिकांश किसानलाई नून, तेल जस्ता दैनिक अत्यावश्यक बस्तुको गर्जाेटार्नसमेत सहज भएको आर्चायले जानकारी दिए। उत्तरी रसुवाका अधिकांश भागमा हिमपात हुने र केही भागमा जमिन अत्यधिक चिसो हुने भएका कारण राम्चेदेखि उत्तरतर्फको पूरै भागमा भने बर्षे आलु मात्र रोप्ने चलन छ।
 
राम्चे, धुञ्चे, भार्खु, हाकु, गोल्जुङ, गतलाङ, यार्सालगायतका क्षेत्रमा फागुनको तेस्रो हप्तादेखि आलु रोप्ने काम सुरू हुने किसान रामकाजी तामाङले बताउनुभयो । यतिखेर उत्तरी रसुवाका किसान बर्षेआलु रोप्नका लागि जमिन तयारी गर्ने काममा जुटेका छन्।

फागुनमा रोपिएको आलु साउनको १५ देखि खन्न सुरु भई भदौसम्ममा बिक्री भइसक्ने र खरिदकर्ता गाउँटोलमै पुग्ने गरेका छन्। गएको वर्षा उत्तरी भेगमा करिब पाँच करोड बराबर बर्षे आलु उत्पादन भएको स्थानीय अनुमान रहेको छ। 
 
रसुवा जिल्ला हिमाली क्षेत्र भएको र गाई बाख्रापालन गरेर बारीमा मलखादको व्यवस्था गर्ने, विषादी औषधि प्रयोग नगर्ने परम्परा भएका कारण रसुवामा उत्पादित आलु बिक्रीले पहिलो प्राथमिकता पाउने गरेको किसान याकबहादुर लिम्बू बताउँछन्।

विसं २०४० अगाडिसम्म काउली, आलु, लसुन, प्याज आदि  खरिद गर्न पनि नुवाकोटको त्रिशूली बजार पुग्नुपर्ने थियो भने अहिले प्रत्येक किसानका बारीमा सब्जी उत्पादन हुनथालेको बताउँदै स्थानीय किसान भवनाथ पौडेलले भने, 'सरकारले कृषि क्षेत्रमा ल्याएको जागरण जनहितकारी बन्दै गएको छ।'

पहिला परम्परागत मुला र रायोको सागमात्र उत्पादन गरिन्थ्यो भने अहिले कृषिको जागरण र सिँचाइको व्यवस्थापनले दैनिक तरकारीको परिकार फेरेर खाने चलन आएको बताइन्छ। रासस


प्रकाशित : मंगलबार, माघ १८ २०७८०८:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend