शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

ग्रेटवालको सब ब्रान्ड ट्यांक ल्याउँदै भीजी इम्पेक्स

ट्यांक ३०० नेपालका लागि सिपमेन्ट 

मंगलबार, माघ १८ २०७८
ग्रेटवालको सब ब्रान्ड ट्यांक ल्याउँदै भीजी इम्पेक्स

पछिल्लो पटक भीजी इम्पेक्सले ग्रेटवालकै सब ब्रान्ड ट्यांक ल्याउन लागेको हो।

काठमाडौं- विलाश समूह कार बिक्रीमा निकै आक्रामक देखिएको छ। दुई पांग्रेदेखि चारपांग्रे सवारीसम्मको आधिकारिक बिक्रेता रहेको विशाल समूहले नयाँ ब्रान्ड ल्याउने क्रम जारी राखेको छ। समूहले अब ग्रेटवाल मोटरको सब-ब्रान्ड ट्यांक ल्याउने भएको छ। 

चिनियाँ कम्पनी ग्रेटवालको सब कम्पनी ट्यांकका एसयूभी भिन्दै लोगोमा उत्पादन हुँदै आएको छ। ग्रेटवालले उत्पादन गर्ने ट्यांक फुल साइजको विलासी स्पोर्टस युटिलिटी भेहिकल (एसयूभी) हो। 

पछिल्लो समय व्यावसायिक घरानाहरू चिनियाँ सवारी ब्रान्ड ल्याउन लागि परेका छन्। विशाल समूहले गत वर्ष चिनियाँ ब्रान्ड ग्रेटवाल मोटर भित्र्याएको थियो। त्यहीअनुसार विशाल समूह अन्तर्गतको भीजी इम्पेक्सले ग्रेटवाल तथा हावाल ब्रान्डका कार बिक्री गर्दै आएको छ। 

पछिल्लो पटक भीजी इम्पेक्सले ग्रेटवालकै सब ब्रान्ड ट्यांक ल्याउन लागेको हो। एसयूभी सवारीप्रति उपभोक्ताको आकर्षण बढ्दै गएकाले कम्पनीले नयाँ ब्रान्ड ल्याउन लागेको हो। 

समूहले केही समयअघि मात्र अर्काे चिनियाँ सवारी उत्पादक कम्पनी म्याक्सस् ब्रान्ड ल्याउन एसएआईसी म्याक्सस् अटोमोटिभ कम्पनीसँग प्रारम्भिक सम्झौता गरिसकेको छ।  

म्याक्सस् ब्रान्ड २०११ मा स्थापना भएको हो। चीनको सांघाईमा मुख्यालय रहेको एसएआईसी म्याक्सस् कम्पनीका प्यासेन्जर कार तथा कमर्सियल सवारी समेत उत्पादन हुँदै आएको छ। 

म्याक्सस् ब्रान्डका जी २०, जी ५०, डी ६०, डी ९० लगायत एसयूभी तथा म्याक्सस् टी ६०, टी ७० मोडलका पिकअप उत्पादन गर्दै आएको छ। पिकअप र एसयूभीको माग उल्लेख्य रहेकाले विशाल समूहले तीनै रेन्जका सवारी आयातलाई जोड दिइरहेको छ।  

विशाल समूहले सुजुकीका मोटरसाइकल तथा स्कुटर बिक्रीगर्दै आएको छ। त्यस्तै समूहले जर्मन ब्रान्ड फक्सवागन, बेलायती ब्रान्ड मोरिस ग्यारेज (एमजी), जापानी ब्रान्ड माज्दा, फ्रेन्च ब्रान्ड रेनो, चिनियाँ ब्रान्ड ग्रेटवाल मोटर्स (जीडब्लूएम) ब्रान्डका कार उपलब्ध गराउँदै आएको छ।

त्यस्तै समूहले कोबेल्को ब्रान्डका हेवी इक्युपमेन्ट समेत बिक्री गर्दै आएको छ। यो समूहले विभिन्न ब्रान्डका लुब्रिकेन्ट समेत आयात गर्दै आएको छ।

भीजी इम्पेक्सले ग्रेटवालकै सब ब्रान्ड हाभाल र ओरा ब्रान्डका कार ल्याएर बिक्री गरिरहेको छ। हाभाल ब्रान्डका एसयूभी बिक्री हुँदै आएको छ। त्यस्तै भीजीले केही दिन अघि मात्र ग्रेटवालकाे सब ब्रान्ड ओराका विद्युतीय कार सार्वजनिक गरेको थियो। 

tank.jpg

ट्यांक ३००

भीजी इम्पेक्सले ल्याउन लागेको ट्यांक ३०० ग्रेटवालको सब ब्रान्ड हो। ट्यांक ३०० मिडसाइज एसयूभी हो जुन विगतमा डब्लूईवाई ट्यांक नाममा बिक्री हुँदै आएको थियो। तर २०२१ अप्रिलदेखि भने ट्यांक सब ब्रान्डमा बिक्री हुन थालेको हो। 

ट्यांक ३०० पहिलो पटक चीनको चेन्दू अटो शोमा सार्वजनिक भएको थियो। ट्यांक ३०० मा २.० लिटर टर्बोचाज्र्ड पेट्रोल इन्जिन रहेको छ। जसले २ सय २७ एचपी पावर दिन्छ भने १ सय किलोमिटर प्रतिघण्टाको गति १० सेमेन्डमै तय गर्न सक्छ। सुरुमा भीजी इम्पेक्सले ट्यांक ३०० नेपाल ल्याउनका लागि चीनबाट सिपमेन्ट गरिसकेको स्रोतले जनाएको छ। 

त्यस्तै ट्यांकको अर्को मोडल ट्यांक ५०० पनि रहेको छ। यो मोडल मिडियम तथा लार्ज लक्जररी अफ रोड एसयूभी हो। ट्यांक ३०० नेपाल ल्याएर परीक्षण गर्ने र उपभोक्ताबाट राम्रो प्रतिक्रिया आए ट्यांक ५०० समेत ल्याउने योजना कम्पनीले बनाएको छ। 


प्रकाशित : मंगलबार, माघ १८ २०७८०६:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend