आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

भारतीय केरा आयातले नेपालमा उत्पादित केराको बजार प्रभावित भएको किसानको गुनासो

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन १५ २०८१
भारतीय केरा आयातले नेपालमा उत्पादित केराको बजार प्रभावित भएको किसानको गुनासो

भारतमा ठूला र चिल्ला केरा उत्पादन हुने हुँदा यहाँका केराको तुलनामा भारतीय केरामा ग्राहकको आँखा पर्ने गर्दछ। नेपालको बजारमा ४० प्रतिशत केरा भारतबाट आउने गर्दछ।

चितवन- भारतीय केराको आयातले यहाँ उत्पादित केराको बजारलाई प्रभावित बनाएको छ। भारतबाट वैध र अवैध दुवै रुपमा भित्रिएको केराले बजार प्रभावित बनाएको हो। 

चितवन केरा उत्पादक संघका अध्यक्ष माधव घिमिरेका अनुसार अहिले यहाँको केरा बजारीकरणका लागि तयारी अवस्थामा छन्। बजारमा भारतीय केराले स्थान पाउँदा यहाँको उत्पादनले सहजै बजार पाउन कठिन भएको उनले बताए। 

भारतमा ठूला र चिल्ला केरा उत्पादन हुने हुँदा यहाँका केराको तुलनामा भारतीय केरामा ग्राहकको आँखा पर्ने गर्दछ। नेपालको बजारमा ४० प्रतिशत केरा भारतबाट आउने गर्दछ।

थोरै केरामात्र भन्सार तिरेर आउने गरेको भए पनि धेरै अवैध रूपमा भित्रने अध्यक्ष घिमिरेको दाबी छ। उनले भने 'कृषिको अरू उत्पादन सहज आउन रोक्दा केरालाई सरकारले रोक्दैन।' केरा आयातमा रोक लगाइएमा नेपालमा आत्मनिर्भर हुनसक्ने गरी उत्पादन गर्न सकिने उनको भनाइ छ।

देशकै सबैभन्दा बढी केरा उत्पादन हुने चितवनमा तीन हजार दुई सय हेक्टर हाराहारीमा केरा खेती हुँदै आएको छ। यहाँका सात सय बढी किसान केराखेतीमा संलग्न छन्। 

हरियो केरा, चिनी चम्पा, माल्भोग जातका केरा व्यावसायिक रूपमा लगाइएको छ। चैतदेखि साउन सम्मलाई किसानले केरा उत्पादनको मुख्य सिजनको रूपमा लिने गर्दछन्। रासस


प्रकाशित : बिहीबार , फागुन १५ २०८११०:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend