आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

रामेछापमा व्यावसायिक महुरीपालन फस्टाउँदै, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोग

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन १२ २०८१
रामेछापमा व्यावसायिक महुरीपालन फस्टाउँदै, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोग

महुरीपालनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि विगतदेखि अनुदान स्वरूप सहयोग गर्दै आइरहेको छ।

रामेछाप- रामेछापमा व्यावसायिक महुरीपालन फस्टाउँदै गएको छ। यहाँका स्थानीय तहहरुमा महुरीपालन गर्नेको सङ्ख्या बढदै गएको छ। मन्थली र रामेछाप नगरपालिका, सुनापति गाँउपालिकालगायतका स्थानीय तहमा व्यावसायिक महुरीपालन गरिएका छन्। 

कम लगानीमा बढि आम्दानी हुने भएपछि यहाँका कृषक महुरीपालनतर्फ आकर्षित भएका हुन्। सुक्खा ठाँउमा पनि महुरीपालन गर्न सकिने भएकाले धेरैको रोजाइमा परेको छ। 

विशेषगरी सेरेना जातका महुरीले प्रायः दुई/तीन महिनामै मह उत्पादन गर्ने भएकाले मह बिक्रीबाट आम्दानी लिन सजिलो हुने कृषक बताउँछन्।

लामो समयसम्म रोजगारीको सिलसिलामा सहर बसेर फर्किएका रामेछाप नगरपािलका-७ सुकाजोरका स्थानीय कृष्णबहादुर तामाङले गाँउमै केही गर्ने अठोटका साथ महुरीपालन गरेका छन्। 

अवसरको खोजी गर्ने क्रममा अन्तिममा महुरीपालन सहज लागेकोले आफू यसप्रति सन्तुष्ट रहेको उनको भनाइ छ। अहिले मह प्रतिकिलो एक हजारदेखि एक हजार पाँच सय रुपैयाँसम्ममा बिक्री हुने गरको छ। एक सिजनमा एउटा घार बाट तीन केजीसम्म मह उत्पादन हुन्छ। एक वर्षमा चार पकटसम्म मह काढ्ने गरेको तामाङको भनाइ छ। 

मन्थली नगरपालिका-१ का चन्द्रबहादुर मानन्धरले दुई/तीन वर्षमै महुरीपालन विस्तार गरी २० घार बनाएका छन्। उनले हाल दुई सय किलोभन्दा बढी मह बिक्री गरिसकेका छन्। सुरुमा महुरीपालनसम्बन्धी कुनै ज्ञान नभएपनि छोटो अवधिको तालिम लिएर सुरु गरेकाले अहिले राम्रै आम्दानी गरेको उनले बताए। 

उनले भने, 'विषेशगरी तोरी फुलेका बेलामा महुरीको मह चाँडो चाँडो काढ्न सकिन्छ। महुरीको चरन क्षेत्र भनेको फुलवारी र तोरीवारी हो।'

महुरीपालन गर्ने कृषकले मह मात्र नभइ महुरी सहितको घारसमेत बिक्री गर्ने गरेका छन्। सेरेना जातको महुरीसहितको घार प्रतिगोटा १० हजार रुपैयाँसम्ममा बिक्री हुने कृषक बताउँछन्। 

मन्थलीमा सदावहार बहुद्देश्यीय सहकारी संस्थाले पनि महुरीपालन सुरु गरेको छ। छोटो तालिम पश्चात सुरु गरेको महुरीपालनबाट प्रतिकिलो एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्मा गाँउघरमै मह बिक्री गर्ने गरेको सुनापति महुरीपालन फार्मका सञ्चालक एवं खनियापानीका लालबहादुर मानन्धरले बताए। 

उनले सेरेना र मेरीफेरा गरी दुई जातका महुरीबाट एक सिजनमा  एक सयदेखि एक सय पचास किलोसम्म मह उत्पादन गर्दै आएका छन्। खनियापनीस्थित रूपाकोटका १८ जनाले पनि ब्यावसायिक महुरीपालन गरेका छन्। रूपाकोट महुरीपालन कृषक समूहले ५३ घार एकै ठाँउमा महुरीपालन गरेका छन्। खनियापानीमा मात्र पाँच सय घार महुरीपालन गरिएको छ। 

महुरीपालनका लागि प्रधानमन्त्री कृषि आधुनिकिककरण परियोजनाले पनि विगतदेखि अनुदान स्वरूप सहयोग गर्दै आइरहेको छ। उक्त सहयोग चालु आर्थिक वर्षमा पनि गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाकी सूचना अधिकारी बिनिषा श्रेष्ठले जानकारी दिइन्। रासस 


प्रकाशित : सोमबार, फागुन १२ २०८११०:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend