आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

बाँझो जग्गा सदुपयोग गर्न तित्याङमा तीनसय रोपनी जग्गामा ओखरखेती थालियो

बिहीबार , फागुन ८ २०८१
बाँझो जग्गा सदुपयोग गर्न तित्याङमा तीनसय रोपनी जग्गामा ओखरखेती थालियो

नगरपालिकाले गत वर्षदेखि बाँझो जग्गामा रहेका कुकाठ हटाउने अभियानसँगै सुक्खा फलफूलखेती गर्न स्थानीयलाई प्रेरित गर्न थालेको हो।

गलकोट- बागलुङको तित्याङमा ओखरखेती विस्तार गरिएको छ। बसाइँसराइका कारण खेतीयोग्य जग्गा बाँझिदै गएपछि बागलुङ नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्न तित्याङमा करिब तीनसय रोपनी जग्गामा ओखरखेती थालेको छ।

नगरपालिकाले गत वर्षदेखि बाँझो जग्गामा रहेका कुकाठ हटाउने अभियानसँगै सुक्खा फलफूलखेती गर्न स्थानीयलाई प्रेरित गर्न थालेको हो। बागलुङ नगरपालिका-९ तित्याङको डोय क्षेत्रमा गत वर्ष र यस वर्ष गरी २८० रोपनी जग्गामा ओखरखेती विस्तार गरिएको वडाअध्यक्ष राजु थापाले जानकारी दिए। 

तित्याङमा गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत १० लाख रूपैयाँ र स्थानीयको आठ लाख रूपैयाँ लगानीमा एकसय ४० रोपनी जग्गामा दुई हजार २ सय ५० ओखरका बिरुवा लगाइएकामा यस वर्ष नगरपालिकाको १२ लाख र स्थानीयको आठ लाख गरी २० लाख रूपैयाँमा जुरेढुंगा क्षेत्रको १ सय ४० रोपनी जग्गामा एक हजार ५ सय ओखरका बिरुवा लगाउन थालिएको वडाअध्यक्ष थापाले बताए।

उनका अनुसार यस वर्ष २० लाख रूपैयाँबाट बिरुवा खरिद, रोपण, सिँचाइ पोखरी निर्माण र मलखादको व्यवस्थापन गर्नेलगायत काम भइरहेका छन्। जुरेढुंगाका कृष्णबहादुर खड्का, रविन थापा र यामबहादुर थापालगायतको बाँझो जग्गामा व्यावसायिक ओखरखेती थालिएको छ।

सिँचाइको अभाव रहेको र बाँझो जग्गामा सुक्खा फलफूलखेती राम्रो हुने भएकाले कुकाठ हटाएर बाँझो जग्गा सदुपयोग गर्न थालिएको बागलुङ नगरपालिका उपप्रमुख राजु खड्काले जानकारी दिए।

पछिल्लो समय बसाइँसराइले गाउँबस्ती रित्तिँदै गएपछि उजाडिएको बारी र जंगल फाँडेर ओखरखेती विस्तार भइरहेको जुरेढुंगा कृषक समूहका अध्यक्ष लिलाबहादुर खड्काले बताए। एक हजार ६०० मिटरदेखि तीन हजार मिटरसम्म लगाउन सकिने दाँते ओखरको ‘थिनसेल’ जातको बिरुवा बागलुङको हावापानीमा लगाउन सकिने भएकाले जुम्लाबाट बिरुवा ल्याएर रोपिएको नगरपालिकाकी कृषि प्राविधिक लछुता बरुवालले जानकारी दिए।

प्रतिबिरुवा तीनसय २० रूपैयाँमा बिरुवा ल्याइएको थियो। जुरे ढुंगाका किसानहरूले परम्परागत खेती गर्दै आएकामा नगरपालिकाले आवश्यक सहयोग र सहजीकरण गर्न थालेपछि सामूहिक रूपमा ओखरखेती गर्न थालेका हुन्। यस वर्ष जुरे ढुंगा कृषक समूहलाई एक हजार ५०० बिरुवा हस्तान्तरण गरेर ओखरखेती विस्तार सुरु गरिएको कृषि प्राविधिक बरुवालले बताए।

उपप्रमुख खड्काले वडा नं ९ का किसानले सुन्तला र तरकारीसँगै ओखरखेतीलाई उच्च प्राथमिकता दिएकाले आगामी वर्ष पनि ओखरका थप बिरुवा वितरण गरिने बताए। रासस


प्रकाशित : बिहीबार , फागुन ८ २०८११०:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend