आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

आलुखेती छाडेर व्यावसायिक ओखरखेतीमा बनौका किसान

मंगलबार, फागुन ६ २०८१
आलुखेती छाडेर व्यावसायिक ओखरखेतीमा बनौका किसान

गाउँमा बाँझो रहेको जमिन सदुपयोग गर्दै किसानलाई फलफूलखेतीतर्फ आकर्षित गर्ने उद्देश्यले यस वर्षदेखि व्यावसायिक रूपमा ओखरखेती विस्तार गरिएको हो।

पर्वत- जिल्लाको जलजला गाउँपालिका-९ बनौमा व्यावसायिक ओखरखेती सुरुवात गरिएको छ। गाउँमा बाँझो रहेको जमिन सदुपयोग गर्दै किसानलाई फलफूलखेतीतर्फ आकर्षित गर्ने उद्देश्यले यस वर्षदेखि व्यावसायिक रूपमा ओखरखेती विस्तार गरिएको हो।

युवाको पलायन बढेसँगै बाँझो रहेको जग्गाबाट आम्दानी गर्न ओखरखेती गर्न लागिएको जलजला-९ बनौका वडाध्यक्ष गौबहादुर पुनले जानकारी दिए। आलुखेती गर्ने जनशक्तिसमेत नभएपछि बाँझिदै गएको खेतबारी सदुपयोग गर्नका लागि ओखरखेती विस्तार गर्न लागिएको हो।

चालु आर्थिक वर्षमा परीक्षणका रूपमा एक हजार पाँचसय ओखरका बिरुवा रोपिएको छ। मुस्ताङमा रहेको शितोष्ण वागवानी विकास केन्द्र मार्फाबाट बिरुवा ल्याएर किसानलाई वितरण गरिसकिएको छ। गाउँका अधिकांश किसानले आफ्नो जग्गाको क्षेत्रफलअनुसार माग गरेका बिरुवा रोपिसकेको अध्यक्ष पुनले जानकारी दिए।

बनौमा चिसो हावापानी रहेकाले दाँते ओखरको राम्रो सम्भावना रहेको जलजला गाउँपालिकाको कृषि विकास शाखा प्रमुख राजु गौतमले बताए। अहिले परीक्षणका रूपमा लगाइएका बिरुवा हुर्कँदै गएमा पुनः अर्को वर्ष किसानको मागका आधारमा खेती विस्तार गरिने उनको भनाइ छ। 

दाँते ओखर नगदे बालीका रूपमा रहेको छ। अहिले नेपाली बजारमा छिमेकी मुलुकबाट आयात हुने गर्छ। बजारको पनि समस्या नहुने र किसानलाई मनग्य आम्दानीसमेत हुने भएकाले यस वर्षदेखि ओखरखेतीमा किसानलाई आकर्षण गरिएको वडाध्यक्ष पुनको भनाइ छ। एकपटक लगाएपछि वर्षौँसम्म आम्दानी लिन सकिने तथा दीर्घकालीन आयका लागि दाँते ओखर उत्पादनका लागि पहिलोपटक खेती सुरु गरिएको पुनले बताए।

यहाँ बर्सेनि करोडौँको आलु उत्पादन हुने गर्छ। पछिल्लो समय आलु लगाउने किसान पनि पलायन हुँदै गएपछि खेतबारी बाँझो रहने क्रम बढेकाले वडा कार्यालयले नयाँ जुक्ति अपनाएको हो। समुद्री सतहबाट दुई हजार मिटरभन्दा माथिको उचाइमा दाँते ओखर राम्रो हुने भएकोले झण्डै दुई हजार तीन सय मिटरको उचाइमा रहेको बनौमा यो प्रयास थालिएको उनको भनाइ छ। 

किसानले खाडल खनिसकेपछि मात्र बिरुवा वितरण गरिएको हो। अहिले सबैले बिरुवा रोपिसकेका छन्। वडाको करिब एक लाख रूपैयाँ लगानीमा बिरुवा खरिद गरिएको थियो। सरकारी दररेटअनुसार बिरुवा किन्दा धेरै महँगो नपर्ने भएकाले थोरै बजेटमा पनि काम गर्न सकिने पुनले बताए।

एकपटक लगाएपछि दीर्घकालीन रूपमा आम्दानीको स्रोतका रूपमा ओखरखेतीलाई लिन सकिने भएकाले यसमा किसानको माग पनि बढेपछि वडाले ओखरखेतीमा लगानी गरेको अध्यक्ष पुनले बताए।

सामान्य परिश्रममा नै किसानहरूको आम्दानी बढाउन सक्ने विश्वास वडा कार्यालयको छ। अन्य ठाउँमा जस्तो यहाँ पनि बसाइँसराइको क्रम रोकिएको छैन। यहाँका बाँझो जग्गालाई सदुपयोग गर्नको लागि पनि यो बाली राम्रो हुने जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताए। आचार्यले जलजलाको बाँसखर्कमा सुन्तला विस्तार गरेजस्तै बनौमा ओखर विस्तार गरिने बताए। रासस 


प्रकाशित : मंगलबार, फागुन ६ २०८११०:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend