आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

सूर्यकुमारी चौधरीले फलाएको १६ किलोको लौका

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ २९ २०८१
सूर्यकुमारी चौधरीले फलाएको १६ किलोको लौका

धनगढीमा लागेको प्रदेशस्तरीय कृषि तथा पशुपक्षी मेलामा प्रदर्शनीका लागि राखिएको यो लौका अवलोकन गर्नेहरूको भीड लाग्ने गरेको छ।

सुदूरपश्चिम- कैलालीको गौरीगंगा नगरपालिका-११ पिरेनी गाउँकी सूर्यकुमारी चौधरीको बारीमा १६ किलोग्रामको एउटै लौका फलेको छ। 
 
गत जेठमा रोपिएको स्थानीय जातको लौकाको लहरामा कुनै रासायनिक मल र विषादी प्रयोग नगरेरै सो लौका फलाएको उनले बताइन्। 'रासायनिक मल र अन्य विषादी केही प्रयोग गरिएन, केवल गोबर मल प्रयोग गरेर लौका फलाइएको लागेको हो', चौधरीले भनिन्।   
 
गौरीगंगा नगरपालिका-९ मा सञ्चालित एकता जैविक संरक्षण कृषि सहकारी (बीउ बैंक)की सदस्यसमेत रहेकी चौधरीले आफ्नै संस्थाबाट लिएको रैथाने जातको लौकाको बीउ रोपेकी थिइन्। 

संस्थाका अध्यक्ष भक्तिराम सापकोटाले संस्थाले रैथाने जातको धान, गहुँ, सिमी, तरकारीलगायत बालीको बीउ संरक्षण गरी किसानलाई बिक्री वितरण गर्दै आएको बताए।

'हाइब्रिड जातको बीउको तुलनामा रैथाने जातको बीउबाट उत्पादकत्व केही कम हुने गरेको छ तर रैथाने जातको बीउबाट खेती गर्दा लागत खर्च कम र रोककिराको समस्या पनि कम हुन्छ। कुनै विषादी वा रासायनिक मल प्रयोगबिना उत्पादित कृषिउपज मानव स्वास्थ्यका लागिसमेत हानिकारक हुँदैन। त्यही भएर हामीले यस्तो कार्यलाई प्रोत्साहन गरिरहेका छौँ', उनले भने।
 
धनगढीमा लागेको प्रदेशस्तरीय कृषि तथा पशुपक्षी मेलामा प्रदर्शनीका लागि राखिएको यो लौका अवलोकन गर्नेहरूको भीड लाग्ने गरेको छ। मेलामा रैथाने जातका अन्नबाली, तरकारीको बीउबिजनका साथै कृषिजन्य सामग्री तथा उपकरण पनि प्रदर्शनीमा राखिएका छन्। 
 
कृषि निर्देशनालय दीपायलको पहलमा कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायीकरण र औद्योगिकीकरणमा टेवा पुर्‍याउने लक्ष्यसहित धनगढीमा चारदिने प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेला प्रदर्शनी २०८१ सञ्चालन भइरहेको छ। रासस


प्रकाशित : मंगलबार, माघ २९ २०८१११:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend