आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

व्यावसायिक कागतीखेतीमा सिभिल इन्जिनियर प्रतीक, तेरौटे गाउँलाई ‘ग्रीन भिलेज’का रूपमा विकास गर्ने योजना

मंगलबार, माघ २९ २०८१
व्यावसायिक कागतीखेतीमा सिभिल इन्जिनियर प्रतीक, तेरौटे गाउँलाई ‘ग्रीन भिलेज’का रूपमा विकास गर्ने योजना

कागतीखेतीका लागि आवश्यक प्रांगारिक मलसमेत आफै उत्पादन गर्दै आएका प्रतीक लोहनीले कागतीखेतीमा गोडमेल तथा हेरचाह गर्न दुई जनालाई रोजगारी दिएका छन्।

दाङ- घोराही उपमहानगरपालिका-१६ तेरौटेका प्रतीक लोहनीले चार बिघा जग्गामा व्यावसायिक कागतीखेती गरेका छन्।

लामो समय अध्ययन तथा रोजगारीका सिलसिलामा अमेरिका बसेका उनले विगत दुई वर्षदेखि आफ्नै पुर्ख्यौली थलोमा व्यावसायिक कागतीखेती गरेका हुन्। उनले तीन वर्षमा उत्पादन दिने सुन कागतीका बिरुवा गत वर्ष पर्वतबाट ल्याएर रोपेका थिए।

गत वर्ष रोपेका केही बिरुवामा यो वर्षदेखि फल लाग्न सुरु गरेको भन्दै प्रतीक भन्छन्, 'सुन कागतीको बिरुवाले सामान्यतया रोपेको तीन वर्षदेखि उत्पादन दिने गरेको भनिन्छ तर यहाँ दुई वर्षमै कतिपय बिरुवामा फल लागेको छ।'

बोट सानो भए पनि यो वर्ष लागेका फल परीक्षणका रूपमा रहन दिएको भन्दै उनले आगामी वर्षदेखि बिरुवाले व्यावसायिक रूपमा उत्पादन दिनेमा विश्वस्त रहेको बताए। सुन कागती व्यावसायिक खेतीका लागि राम्रो मानिएकाले आफूले पर्वतबाट ल्याएको उनले बताए। तेरौटेमा रहेको करिब चार बिघा जग्गा भाडामा लिएर एक हजार पाँचसय ५० बिरुवा रोपेको लोहनी बताउँछन्।

कागतीखेतीका लागि आवश्यक प्रांगारिक मलसमेत आफै उत्पादन गर्दै आएका लोहनीले कागतीखेतीमा गोडमेल तथा हेरचाह गर्न दुई जनालाई रोजगारी दिएका छन्। धेरै बिरुवा भएकाले एक्लै हेरचाह गर्न नसकिने र फार्ममा काम भइरहने भएकाले स्थानीय दुई जनालाई रोजगारी दिएको बताउँछन्। कागतीलाई बढाउँदै लग्ने सोचमा रहेका उनले प्रतिकट्ठा वार्षिक तीन हजार रूपैयाँ तिर्ने गरेको बताए।

सुक्खा ठाउँ भएकाले थोपा सिँचाइ प्रविधिका माध्यमबाट प्रत्येक बोटमा पानी पुर्‍याउने व्यवस्था गरेका छन्। विगत लामो समयदेखि उपभोग हुन नसकेको जमिनलाई खनजोत गरेर व्यावसायिक खेतीमा लागेका लोहनी तेरौटे गाउँलाई ‘ग्रीन भिलेज’का रूपमा विकास गर्नेगरी लागेको बताउँछन्।

त्यही सोचअनुसार तेरौटेमा अहिले कागती, टमाटरलगायत व्यावसायिक तरकारीखेती भइरहको उनले बताए। गाउँलाई ग्रीन भिलेजका रूपमा विकास गर्नका लागि पेसाले सिभिल इन्जिनियर भए पनि गाउँमै बसेर कागतीखेती गर्न थालेको बताउँछन्। 

अमेरिकाबाट फर्किएर केही वर्ष काठमाडौंमा अध्यापनसँगै हाइड्रोपावर कम्पनीमा काम गरेका लोहनीले भने, 'अरुको मात्र कति काम गर्ने आफ्नो पनि केही काम गरौँ भन्ने सोचले कागतीखेतीमा जोडिएको छु', अन्य तरकारीको तुलनामा कागतीमा रोग सङ्क्रमणको डर कमसँगै उत्पादन बढी लिन सकिने र उत्पादन बिक्रीका लागि समस्या नहुने भएकाले कागतीखेतीमा लागेको उनी बताउँछन्। रासस


प्रकाशित : मंगलबार, माघ २९ २०८१११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend