आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार

मंगलबार, माघ २९ २०८१
उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार

मुस्ताङ, मनाङ, बागलुङ, गोरखालगायत हिमाली र उच्च पहाडी भेगका किसान उक्त प्रविधिको स्याउखेतीमा आकर्षित भएका छन्।

गण्डकी- गण्डकी प्रदेशमा एक हजार चारसय ७७ रोपनी क्षेत्रफलमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार गरिएको छ। मुस्ताङ, मनाङ, बागलुङ, गोरखालगायत हिमाली र उच्च पहाडी भेगका किसान उक्त प्रविधिको स्याउखेतीमा आकर्षित भएका हुन्। 

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले स्याउ बगैँचा विस्तारमा किसानलाई सघाउँदै आएको छ। मुस्ताङ र मनाङ स्याउखेतीका लागि उपयुक्त क्षेत्र मानिन्छ। 

बागलुङको ढोरपाटन, गोरखाको चुमनुब्री, म्याग्दीको गुर्जालगायतका ठाउँमा पनि उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती गरिएको मन्त्रालयका सचिव वासुदेव रेग्मीले जानकारी दिए। मन्त्रालयले स्याउखेती विस्तार तथा व्यवसायीकरण आयोजना र शितोष्ण फलफूल विस्तार तथा व्यवसायीकरण आयोजनामार्फत किसानलाई सहयोग गर्दै आएको उनले बताए। उनका अनुसार मुस्ताङ र मनाङलाई मुख्य रूपमा केन्द्रित गरी स्याउखेती विस्तारको आयोजना सञ्चालन गरिएको हो। 

अन्य जिल्लाका उच्च पहाडी भेगका किसानले पनि पछिल्लो समय व्यावसायिक स्याउखेती सुरु गरेका छन्। मन्त्रालयले स्याउखेती र शितोष्ण फलफूल विस्तारमा बर्सेनि ठूलो बजेट खर्च गर्दै आएको छ। किसानलाई स्याउका बिरुवामा उपलब्ध गराउने गरिएको सचिव रेग्मीले बताए। 

शितोष्ण फलफूल विस्तार आयोजनाअन्तर्गत पाँचसय २७ रोपनी क्षेत्रफलमा ओखर बगैँचा र छ हेक्टर क्षेत्रफलमा खुर्पानी बगैँचा विस्तार गरिएको छ। विस्तार गरिएको स्याउ तथा अन्य फलफूलखेतीबाट वार्षिक करोडौँ रुपैयाँ आम्दानी भइरहेका छ भने छ सय जनाभन्दा बढी रोजगारीमा जोडिएको मन्त्रालयले जनाएको छ। 

स्याउका लागि मुस्ताङमा एक सय टन क्षमताका दुई वटा चिस्यान केन्द्र पनि निर्माण गरिएको कृषि ज्ञानकेन्द्र मुस्ताङका कृषि अधिकृत दिलीप नेपालीले जानकारी दिए। उनका अनुसार थासाङ गाउँपालिकाको टुकुचे र घरपझोङ गाउँपालिकाको मार्फामा चिस्यान केन्द्र निर्माण गरिएको हो।

लोमान्थाङ गाउँपालिकाबाहेक मुस्ताङका चारै गाउँपालिमा उच्च घनत्वमा आधारित स्याउखेती विस्तार गरिएको छ। किसानले बिरुवामा ७५ प्रतिशत र खेती व्यवस्थापनमा ५० प्रतिशत अनुदान पाउने गरेका छन्। उच्च घनत्वको आधुनिक प्रविधिको स्याउखेतीतर्फ किसानको आकर्षण बढेपछि मुस्ताङमा मुस्ताङमा स्याउको क्षेत्रफल विस्तार भएको हो।

रैथाने जातभन्दा उच्च घनत्वको स्याउका बोट होचो र हाँगाबिँगा कम हुने हुँदा बगैँचा व्यवस्थापन गर्न पनि सजिलो हुने कृषि अधिकृत नेपालीले बताए। छिटो र धेरै उत्पादन दिने भएपछि उक्त प्रविधिको स्याउखेतीतर्फ किसान आकर्षित भएका हुन्। उच्च घनत्वको स्याउखेतीका लागि एउटै बिरुवाको एक हजारदेखि एक हजार दुई सय रुपैयाँसम्म मूल्यपर्ने जनाउँदै केन्द्रका कृषि अधिकृत नेपालीले बताए। 

बगैँचा व्यवस्थापन पनि खर्चिलो भएकाले सरकारले थप अनुदान सहुलियत दिनुपर्ने किसानको माग छ। उक्त प्रविधिको स्याउखेती एक दशकअघि मात्र नेपाल भित्रिएको थियो। गण्डकी प्रदेशमा सुरुमा मनाङबाट उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती सुरु गरिएको थियो। यो स्याउका बिरुवा इटालीदेखि नेपाल भित्र्याइएको थियो। 

थोरै जग्गामा पनि धेरै बिरुवा लगाउन सकिने तथा छिटो र धैरै फल दिने हुँदा यो स्याउखेती फस्टाउँदै गएको हो। गाला, फुजी, गोल्डेनलगायत जातका स्याउखेती हुँदै आएको छ। एउटा स्याउको बोटले २५ वर्षसम्म उत्पादन दिने कृषि अधिकृत नेपालीले बताए। रासस


प्रकाशित : मंगलबार, माघ २९ २०८११०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend