आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

बाँझो जग्गामा सामूहिक आलुखेती

शनिबार, माघ २६ २०८१
बाँझो जग्गामा सामूहिक आलुखेती

स्थानीय मिलीजुली कृषक समूहले आहालटारको ६० रोपनी बाँझो जग्गा बिराएर सामूहिक आलुखेती सुरु गरेका हुन्।

खोटाङ- यहाँको दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ छितापोखरीका ३३ घर किसानले बाँझो जग्गा बिराएर सामूहिक आलुखेती सुरु गरेका छन्। स्थानीय मिलीजुली कृषक समूहले आहालटारको ६० रोपनी बाँझो जग्गा बिराएर सामूहिक आलुखेती सुरु गरेका हुन्।

'१५ हजार रूपैयाँमा जग्गा भाडामा लिइएको छ', मिलीजुली कृषक समूहका अध्यक्ष गजेन्द्र राईले भने, 'सामूहिक आलुखेती गर्न संघीय सरकारले १५ लाख रूपैयाँ बजेट उपलब्ध गराएको छ। यो वर्ष कम्तीमा एकसय मुरी आलुको बीउ रोप्ने योजना बनाएका छौँ।'

हालसम्म ८० मुरी आलुको बीउ रोपिसकिएको अध्यक्ष राईले जानकारी दिए।

एक सिजनमा सरदर ५० हजार किलो आलु फलाउने लक्ष्य लिइएको सो वडाका वडाध्यक्ष मिलन राईले बताए। प्रतिमुरी चार हजार रुपैयाँका दरले खरिद गरिएको भोटाङ्गे, नाम्जुङ्गे र धराने जातको आलु रोपिएको हो। आलुखेतीमा प्रतिट्र्याक्टर ६ हजार रूपैयाँका दरले खरिद गरिएको गाईभैँसीको मल प्रयोग गरिएको छ। 

गाउँपालिकालाई आलु उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आलु खेती सुरु गरिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिए। 'पहिलो चरणमा संघीय सरकारबाट प्राप्त बजेटबाट सामूहिक खेती सुरु गरिएको छ।

आगामी दिनमा गाउँपालिकाले बजेट विनियोजन गरेर सामूहिक आलुखेतीलाई निरन्तरता दिने योजना छ', उनले भने, 'यहाँ उत्पादित आलु भण्डारणका लागि यसै वर्ष भवन निर्माण गर्ने योजना छ। उत्पादित आलु भण्डारण गरेर बिक्री वितरण गर्न गाउँपालिकाले सहयोग गर्छ।' रासस


प्रकाशित : शनिबार, माघ २६ २०८११३:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend