शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

गैंडा मरेको विषयमा निर्माण व्यवसायीलाई गैरकानूनी कारबाही अगाडि बढाइएको भन्दै महासंघको आपत्ति 

शुक्रबार, माघ १४ २०७८
गैंडा मरेको विषयमा निर्माण व्यवसायीलाई गैरकानूनी कारबाही अगाडि बढाइएको भन्दै महासंघको आपत्ति 

काठमाडौं- सडक विस्तारका क्रममा नाली बनाउन खनिएको खाल्डोमा परेर चितवनमा एकसिंगे गैडा मरेपछि निर्माण व्यवसायीलाई समेत आरोपित गरी गैरकानूनी रूपमा सम्बन्धित निकायबाट कारबाही अगाडि बढाइएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ। 

निर्माण कम्पनी इन्डो सगुन जेभीबाट उक्त निर्माण कार्यका क्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन नियम विपरित हुने कुनै पनि काम कारबाही नभएको र निर्माण सम्झौता बमोजिम नै निर्माण कम्पनीले अनुसरण गर्नुपर्ने सम्पूर्ण सुरक्षाका मापदण्ड अपनाइएको महासंघले जनाएको छ। सडक डिभिजन कार्यालय भरतपुर अन्तर्गतको उक्त आयोजनाको निर्माण क्षेत्रमा गैंडाको प्राकृतिक आवतजावतको क्रममा भएको दुःखद् निधनको तथ्यलाई तोडमोड गरिएको महासंघको भनाइ छ। 

‘तथ्य तोडमोड गरी निर्माण व्यवसायी उपर प्रचलित कानून विपरीत हुने गरी अनुसन्धानको नाममा पक्राउ पुर्जी जारी गर्ने, दुःख हैरानी दिने कार्यबाट विभिन्न बाधा अड्चनका बाबजुद भौतिक पूर्वाधार निर्माण कार्यमा अहोरात्र खटिएका व्यवसायीहरूको मनोबल गिराउने र निर्माण कार्यलाई अगाडि बढाउन हतोत्साहित गर्ने काम भएको महासंघको ठहर छ’ महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

निर्माण स्थलमा कङ्क्रिटको नाली बनाइसकेपछि पूर्ण रूपमा सेट हुनका लागि प्राविधिक रूपमा केही दिन खुल्लै राख्नुपर्ने प्रावधान रहेकोले नाली नपुरिएको र सम्झौता बमोजिम कम्पनीले साइट सुरक्षाका मापदण्ड र उपायहरू अनुसरण गरी आयोजनाको नियमित सुपरिवेक्षण र निर्देशनमा निर्माण कार्य गरिरहेको अवस्थामा प्राकृतिक रूपमा घटना भएको तथ्य जगजाहेर हुँदाहुँदै निर्माण व्यवसायीलाई नियोजित रुपमा आरोपित गरी झुठा लान्छना लगाई व्यवसायीहरूलाई मुछेर मानमर्दन गरिएको कार्यप्रति महासंघले गम्भीर आपत्ति जनाएको हो। 

यस घटनालाई लिएर निर्माण कम्पनी इन्डो सगुन जेभीका प्रतिनिधि सहदेव खड्कालाई अनुसन्धानको नाममा झुठा लान्छाना लगाई पक्राउ पुर्जी जारी गरी पक्राउ गर्ने लगायतका काम कारबाही तत्काल रोक्न महासंघले जोडदार माग गरेको छ। साथै भविष्यमा समेत पूर्वाधार विकास निर्माणका कार्यहरू हुने क्षेत्रमा प्राकृतिक रूपमा हुने यस्ता किसिमका घटनाहरूमा निर्माण व्यवसायीलाई आरोपित गर्ने कार्य नगर्न समेत महासंघले नेपाल सरकार तथा सम्बन्धीत निकायहरुसँग माग गरेको छ।

विश्वमै दुलर्भ एकसिंगे गैडा मरेकोमा महासंघ समेत दुःखी भएको विज्ञप्तिमा उल्लेख छ। घटनाको छानविन गर्न वन मन्त्रालयद्वारा गठित छानविन समितिमा नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समेत संलग्नता हुने गरी एक निष्पक्ष एवं स्वतन्त्र छानविन समिति गठन गरी यस घटनाको विना कुनै पूर्वाग्रह सत्य तथ्य सार्वजनिक गर्न महासंघले जोडदार माग गरेको छ।


प्रकाशित : शुक्रबार, माघ १४ २०७८१२:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend