आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

डेढ करोड लगानीमा बलेवाका किसानले थाले कागतीखेती

आइतबार, माघ १३ २०८१
डेढ करोड लगानीमा बलेवाका किसानले थाले कागतीखेती

किसानले समूह बनाएर साढे दुईसय रोपनी जग्गा भाडामा लिएर कागतीखेती सुरु गरेका हुन्।

बागलुङ- बसाइँसराइका कारण रित्तिँदै गएको गाउँमा बागलुङ नगरपालिका-१४ बलेवाका किसानले व्यावसायिक कागतीखेती गर्न थालेका छन्। किसानले समूह बनाएर साढे दुईसय रोपनी जग्गा भाडामा लिएर कागतीखेती सुरु गरेका हुन्।

बलेवाका ५२ किसानले झाडीले ढाकिएको खेतीयोग्य जमिन सदुपयोग गरी कागती लगाएका छन्। विसं २०७७ देखि ‘चासो कृषक समूह’ले सुरु गरेको कागतीखेती फस्टाउन थालेको छ। कागतीखेती गर्न एक करोड ५० लाख रूपैयाँभन्दा बढी लगानी भएको समूहका अध्यक्ष केशव सुवेदीले जानकारी दिए। गत वर्षदेखि नै कागती उत्पादन हुन थालेको उनको भनाइ छ। यस वर्ष झण्डै पाँच लाख रूपैयाँको बिक्री गरेको अध्यक्ष सुवेदीले बताए।

कागतीखेतीका लागि कृषि ज्ञान केन्द्रले ६ लाख र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले १५ लाख रूपैयाँ अनुदान दिएको थियो। किसानले झण्डै एक करोड ३० लाख रूपैयाँ लगानी गरेको अध्यक्ष सुवेदीले जानकारी दिए। गाउँका नागरिक सेवा र सुविधाको खोजीमा बजार झर्न थालेपछि खेतीयोग्य जमिनको सदुपयोगका लागि कागतीखेती सुरु गरेको उनको भनाइ छ।

अध्यक्ष सुवेदीका अनुसार हाल कागती बगानमा चार हजार बिरुवा हुर्किरहेका छन्। गाउँमा बाँदर आतंक बढ्दा अरु खेती गर्न छाडेर कागती खेती गरिएको हो। कागतीखेती गरेपछि बाँदर आतंक केही कम भएको छ। बर्सेनि उत्पादन बढ्दै जाने र आम्दानी पनि बढ्ने छ। यस वर्ष पाँच लाख रूपैयाँको कागती बागलुङ, कुश्मालगायत बजारमा बिक्री भएको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङका प्रमुख नारायण पौडेलले दुई वर्षदेखि उक्त कृषक समूहलाई प्राविधिक सहयोग र आर्थिक अनुदान दिँदै आएको बताए। विसं २०७९ मा चक्लाबन्दीका लागि १० लाख रूपैयाँ र गत वर्ष कागती ग्रेडिङ तथा भण्डारणका लागि पाँच लाख रूपैयाँ सहयोग गरेको उनले जानकारी दिए।

प्रमुख पौडेलले भने, 'अन्य किसानका लागि पनि यो अध्ययन केन्द्र बन्न सक्छ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले दुई वर्षदेखि निरन्तर सहयोग गर्दै आएको छ। विषादी र अन्य प्राविधिक सहयोग गरेका छौँ, बोटले बिस्तारै फल दिन थालेपछि किसान पनि उत्साहित छन्।'


प्रकाशित : आइतबार, माघ १३ २०८१११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend