शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

अलैँची उत्पादनमा वृद्धि : किसानले भने पाएनन् उचित मूल्य

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ १३ २०७८
अलैँची उत्पादनमा वृद्धि : किसानले भने पाएनन् उचित मूल्य

खोटाङ- जिल्लामा अलैँची उत्पादनमा वृद्धि भएको छ। आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्षमा २४५ मेट्रिक टन अलैँचीको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ।

केन्द्रका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५४२ मेट्रिक टन अलैँची उत्पादन भएकोमा गत आर्थिक वर्षमा ७८७ मेट्रिक टन उत्पादन भएको हो। उत्पादनमा वृद्धि भएपनि यसले उचित मूल्य पाउन सकेको छैन। महत्वपूर्ण नगदेबालीको रुपमा रहेको अलैँची खेतीप्रति उत्साहित किसान उचित मूल्य नपाउँदा भने निराश देखिएका छन्। 

कुनै समयमा राम्रो मूल्यमा बिक्री हुने गरेको कारण अलैँची खेतीमा हौसिएर जिल्लाका किसानले अलैँची उत्पादन वृद्धि गर्न थाले पनि अहिले भने जस्तो उचित मूल्य पाउन नसक्दा अलैँची उत्पादक किसान निराश बन्न थालेका हुन्। विगतका वर्षमा तीन हजारदेखि तीन हजार ५ सय रूपैयाँ प्रतिकिलो मूल्यमा बिक्री हुने गरेको अलैँची अहिले ८ सय ७५ रूपैयाँदेखि एक हजारसम्म मात्र बिक्री हुने गरेको किसानको भनाइ छ। 

मौसम अनुकूल र रोगको प्रकोप कम भएका कारण यो वर्ष जिल्लामा अलैँचीको उत्पादन बढेको केन्द्रका सूचना अधिकारी एवम् कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए। जिल्लामा अलैँची खेतीका लागि उपयुक्त १४ हजार दुई हेक्टर क्षेत्रफलमध्ये यो वर्ष १० हजार ६४ हेक्टर जग्गामा लगाइएको थियो। खेर गएको भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैंची बिक्रीबाट जिल्लामा वार्षिक रु तीन करोडभन्दा बढी रकम भित्रिने गरेको छ। 

यहाँ उत्पादित अधिकांश अलैँची निकासी भइसकेको छ भने कतिपय निकासीको चरणमा छ। कतिपय किसान अलैँचीको बजारभाउ बढ्ने र त्यही मौकामा बिक्री गर्ने योजनामा पनि छन्। अलैँची खरिद गर्नका लागि ठेकेदारले ट्याक्टर लिएर किसानका घर–घरमा पुग्ने गरेका छन्।

केही वर्षयता अलैँचीको भाउ निरन्तर ओरालो लागे पनि यसको व्यवसायिक खेतीप्रति किसानको आकर्षण भने घटेको छैन। केही रोपनी जग्गाबाट अलैँची खेती शुरु गरेका किसानले वर्षेनी अलैँची खेतीको क्षेत्र बिस्तार गरिरहेका छन्। कतिपयले जग्गा भाडामा लिएरसमेत अलैँचीको व्यवसायिक खेती शुरु गरेका छन्। 

अन्नबालीका लागि दिनरात खट्नुपर्ने तथा अलैँचीका लागि थोरै समय दिँदा पनि मनग्य आम्दानी हुने भएपछि जिल्लाका किसान अलैँची खेतीप्रति आकर्षित भएका हुन्। पहिला–पहिला अलैँचीको मूल्य राम्रो भएका कारण आर्थिक आम्दानीको लागि अलैँची खेतीमा लागेका किसान हिउँद, बर्खा दुःख ऋणपान गरेर भएपनि अलैँची उत्पादन ग¥यो, तर यसको उचित मूल्य नपाउँदा उनीहरु अहिले निराश भएका छन्। रासस


प्रकाशित : बिहीबार , माघ १३ २०७८०९:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend