शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

बेगखोलामा मोटर पुल निर्माण सुरु

बिहीबार , माघ १३ २०७८
बेगखोलामा मोटर पुल निर्माण सुरु

पुल निर्माणका लागि २०७८ असार २९ गते बीओकेआई/हिमालयन जेभीसँग भ्याटसहित आठ करोड ३० लाख ६८ लाख ४७३ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। 

बेनी- राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर बेनी-जोमसोम-कोरला सडक योजना अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ बेगखोलामा मोटर चल्ने पक्की पुल निर्माण सुरु भएको छ। 

सडक विभागको पुल महाशाखाले ७० मिटर लामो डबल स्पान भएको पुल निर्माणका लागि २०७८ असार २९ गते बीओकेआई/हिमालयन जेभीसँग भ्याटसहित आठ करोड ३० लाख ६८ लाख ४७३ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। 

विभागको पश्चिम सेक्टर कार्यालयका इञ्जिनीयर आशिक रिजालले ठेकेदारले निर्माण सामग्री जुटाएर पुल निर्माणका लागि प्रारम्भिक चरणको काम सुरु गरेको जानकारी दिए। '११ मिटर चौडाइको हुने पुलको डिजाइन एण्ड बिल्ड (निर्माण व्यवसायीले आफै डिजाइन र निर्माण गर्ने) मोडलमा ठेक्का सम्झौता भएको हो,' उनले भने '२०८० चैत २५ गतेभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य छ।'

२०७३ भदौ १७ गतेको बाढीले बेगखोलामा एक जना मानिस, ११ वटा घर, बेलिब्रिज र झोलुङ्गे पुल बगाएपछि बर्खायाममा बाढी आउँदा यातायात आवतजावत बन्द हुने र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो। पाँच वर्षअघि बगाएको बेलिब्रिजको विकल्पमा पक्की पुल निर्माण हुन लागेको हो। 

पक्की पुलसँगै गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय म्याग्दीले पनि बेगखोलामा ८० मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु गरेको छ। गत कात्तिक तेस्रो साता करसहित २९ लाख ३८ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको हिमशिखर कन्ट्रक्सनले पुल निर्माणको काम गरिरहेको पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख सन्तोष अर्यालले बताए।  

बाढीले बगाएको ठाउँमा मोटरेबल र झोलुङ्गे पुल पुनःनिर्माण भएपछि बर्खायाममा बेनी-जोमसोम यात्रा गर्दा जोखिम, सास्ती र झञ्जट हट्ने अपेक्षा गरिएको छ। पुल महाशाखाले बेनी-जोमसोम-कोरला सडक अन्तर्गत महभीर र पोखरबगरस्थित कालीगण्डकीमा दुई वटा मोटरेबल पुल निर्माण गरेको छ।

२०७४ फागुनमा १९ करोड रुपैयाँमा ठेक्का लिएको हिम-सगरमाथा-डाँफे-बज्रगुरु जेभीले महभिरमा बनाएको ८० मिटर लामो ११ मिटर फराकिलो पुल सञ्चालनमा आइसकेको छ। पोखरेबगरमा बनाएको ७० मिटर लामो पुल जोड्ने पहुँच मार्ग निर्माण गरेर सञ्चालनमा ल्याउने तयारी भएको छ। 

गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर अन्तर्गत बेनीदेखि कोरला नाका जोड्ने सडकमा आठ वटा मोटर चल्ने पुल निर्माण सकिएका छन्। १८६ किलोमिटर दुरिको बेनी-जोमसोम-जोमसोम-कोरला सडक आयोजना अन्तर्गत थप एक वटा निर्माणको अन्तिम चरण र १२ वटा निर्माणाधीन रहेका छन्। आयोजना प्रमुख जगत प्रजापतिले थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको बताए। रासस                               


प्रकाशित : बिहीबार , माघ १३ २०७८०८:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend