आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

नारायणी लिफ्ट सिँचाइबाट बाह्रै महिना पानी, ३० करोड रुपैयाँमा नयाँ पम्प जडान

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ ९ २०८१
नारायणी लिफ्ट सिँचाइबाट बाह्रै महिना पानी, ३० करोड रुपैयाँमा नयाँ पम्प जडान

चैत र बैशाख महिनामा नारायणीमा पानी कम भए समस्या हुने भए पनि अन्य समयमा मागअनुसारको पानी दिन आयोजना तयार रहेको जनाइएको छ।

चितवन- नारायणी लिफ्ट सिँचाइ सिँचाइ आयोजनाले हिउँदमा पनि पानी उपलब्ध गराएको छ। आयोजनाले ५० वर्षपछि आफ्ना दुवै नहरबाट हिउँदमा पानी छोडेको हो। यसअघि बर्खायाममा मात्रै पानी छाडिने गरेकामा अब बाह्रै महिना नहरमा पानी ल्याउन सकिने भएको छ।

आयोजनाका सूचना अधिकारी कुलराज चालिसेका अनुसार  २०३९ सालमा स्थापना भएको उक्त आयोजनाले यसपटक हिउँदको समयमा दुईवटै नहरमा पानी छोडेको हो।

उनले भने, 'नहरमा गत वर्ष मात्रै पानी छोडेका थियौँ। अहिले दुवै नहरबाट पानी छोडेका छौँ।' किसानको मागअनुसार पानी छोडिएको उनले बताए। उनले भने, 'गहुँ, आलु र राजमाखेती गर्ने किसानको मागअनुसार पानी छोडेका छौँ।'
 
विगतका वर्षहरूमा उपभोक्ताको माग नहुने गरेकामा दुई वर्षयता माग बढेको हो। आयोजनाले चार हजार चार सय हेक्टर जग्गामा सिँचाइ गर्दै आएको छ। अहिले ३५ प्रतिशत क्षेत्रफलमा गहुँ, आलु र दाल राजमाखेती गरिएको सूचना अधिकारी चालिसेले जानकारी दिए।

उनले भने, 'हामीले पानी छोडेको एक साता बढी भयो। किसानको मागअनुसार पानी छोड्छौँ।' बर्सातमा विशेष गरी धान रोप्नका लागि मात्रै पानी छोड्ने गरिएको भए पनि अहिले हिउँदमा समेत पानीको माग बढेको उनले बताए।
 
चैत र बैशाख महिनामा नारायणीमा पानी कम भए समस्या हुने भए पनि अन्य समयमा मागअनुसारको पानी दिन आयोजना तयार रहेको सूचना अधिकारी चालिसेले बताए। अहिले गौरीगञ्ज क्षेत्रमा पानीको प्रयोग भइरहेको उनको भनाइ छ।
 
नारायणी लिफ्ट उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले हिउँदमा पनि सबै पम्पबाट पानी तान्न सक्ने व्यवस्था गरिएको बताए। ३० करोड रुपैयाँभन्दा बढी खर्च गरेर नयाँ पम्प जडान गरेपछि हिउँदको समयमा पानी दिन थालिएको हो।

चैत र बैशाख महिनामा नारायणी नदीमा पम्पले तान्ने तहभन्दा पानीको सतह तल झर्ने गर्दछ। त्यसलाई समाधान गर्न भरतपुर महानगरपालिकाले ५० लाख विनियोजन गरेको भन्दै मुहान मर्मत गरेर बाह्रै महिना पानी तान्न सक्ने बनाइने बताए।

चैत लागेपछि मकैका लागि पानी आवश्यक पर्दछ। यसको तयारीमा आफूहरू जुटेको रानाभाटले बताए। भरतपुर महानगरपालिका-१ स्थित नारायणी नदीबाट पम्पमार्फत पानी तानेर महानगरका विभिन्न वडामा सिञ्चित गरिँदै आएको छ। रासस


प्रकाशित : बुधबार, माघ ९ २०८११०:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend