आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

दुई अर्ब ९५ करोड बराबरको चिया निर्यात

मंगलबार, माघ ८ २०८१
दुई अर्ब ९५ करोड बराबरको चिया निर्यात

मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ। कार्यालयको तथ्याङ्कानुसार (साउन–पुस) सम्ममा दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ।

भद्रपुर- मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ। कार्यालयको तथ्यांकअनुसार (साउन–पुस) सम्ममा दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ। 

सोही अवधिमा ११ हजार दुई सय ३२ दशमलव २७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए। गत आव २०८०/८१ को सोही अवधिमा रु एक अर्ब ९० करोड पाँच लाख छ हजार बराबरको चिया निर्यात भएको थियो। 

भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपाली चियाको निर्यात सुखद् पक्ष रहेको चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले बताए। चिया निर्यातमा नेपाल सरकारले सहजीकरण गरिदिने हो भने भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने अध्यक्ष पराजुलीको दाबी छ।

कार्यालयको तथ्याङ्कानुसार चालु आव २०८१/८२ को पुस मसान्तसम्म अलैँचीको निर्यात १६ दशमलव सात प्रतिशतले बढेको छ। चालु आवको छ महिनामा  चार अर्ब ५५ करोड ७० लाख ६९ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ। गत आव २०८०/८१ को सोही अवधिमा  तीन अर्ब ९० करोड ५८ लाख ६ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको थियो।

कार्यालयको तथ्याङ्कानुसार प्लाइउड २७ दशमलव ९०, सिमेन्ट क्लिङ्कर चार हजार एक सय ४१, भेनियर सिटको निर्यात दुई सय ३६ प्रतिशतले वृद्धि भएको छ। यसैगरी फलामे पाता, छुर्पी, अदुवा, काउली, बन्दागोपी, ब्रोकाउली, फलामलगायत वस्तुको निर्यातमा कमी आएको छ। पूर्वी नाकामा रहेको मेची भन्सारबाट चालु आवको छ महिनामा  १३ अर्ब ८४ करोड चार लाख ३९ हजार रुपैयाँको मालवस्तु निर्यात भएको छ। रासस


प्रकाशित : मंगलबार, माघ ८ २०८१०९:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend