आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

तरकारीखेतीमा वडाध्यक्ष चौधरी, वार्षिक चार लाख रूपैयाँसम्म आम्दानी

बिहीबार , माघ ३ २०८१
तरकारीखेतीमा वडाध्यक्ष चौधरी, वार्षिक चार लाख रूपैयाँसम्म आम्दानी

वडाध्यक्ष खुसीराम चौधरीले जम्मा २२ कठ्ठा जग्गामा बर्सेनि तीन बाली खेती लगाउने गर्छन्। कचिलामा बेमौसमी तरकारी बढी उत्पादन हुन्छ।

दाङ- यहाँको तुलसीपुर उपमहानगरपालिका-१२ का खुसीराम चौधरीको बारीमा अहिले लटरम्म गोलभेँडा फलेका छन्। प्याजका बेर्ना उम्रिँदै छन्।

उनी सो वडाका वडाध्यक्ष पनि छन्। वर्षौँदेखि तरकारीखेती गर्दै आएकाले हुनसक्छ कचिला निवासी चौधरीले जनप्रतिनिधि निर्वाचित भएपछि पनि तरकारी खेतीलाई निरन्तरता दिइरहेका छन्। 'तरकारीखेती हाम्रो पुरानो पेसा हो', उनले भने, 'म जनप्रतिनिधि भएपनि यो पेसा छोड्न सक्दिनँ।'

करिब तीन कठ्ठा जमिनमा उनले गोलभेँडाखेती गरेका छन्। अन्यमा केराउ, प्याज, लसुनखेती गरेका छन्। चौधरीले जम्मा २२ कठ्ठा जग्गामा बर्सेनि तीन बाली खेती लगाउने गर्छन्। कचिलामा बेमौसमी तरकारी बढी उत्पादन हुन्छ। 

वडाअध्यक्ष चौधरी माघको अन्तिमतिर सिमी, करेला, बोडी, भेडे खोर्सानी रोप्ने तयारीमा छन्। साउनमा काँक्रा, सिमी र बोडी रोप्ने गर्छन्। असोजमा गोलभेँडा, केराउ रोप्ने गरेको उनी बताउँछन्। 

'जनप्रतिनिधि होस्, या अरु कुनै पेसा व्यवसायमा हात हालेको व्यक्तिले प्रायः खेतबारीमा काम गरेको देखिँदैन', वडाध्यक्ष चौधरीले भने, 'तर, म उत्पादनमा जोडिनुपर्छ, ताकी यो कुराले अरुलाई प्रेरणा होस्।'

उनले उत्पादन गरेको तरकारीले उचित बजार भने पाउन सकेको छैन। भारतबाट आयातित तरकारीले यहाँ उत्पादित तरकारीले बजार नपाउने गरेको उनको गुनासो छ। चिस्यान केन्द्र नहुँदा यस्तो समस्या हुने गरेको उनले बताए। हाल कचिलासहित आसपासका वडामा उत्पादित तरकारीलाई बजारीकरण गर्न शितलपुरमा हाटबजार लगाउने तयारी गरिएको छ। 

गोलभेँडा, प्याज, लसुन, खुर्सानीलगायत बिक्री गरेर उनले वार्षिक चार लाख रूपैयाँसम्म आम्दानी गर्दै आएका छन्। उनले राजनीति गर्नेले खाली बस्नुपर्छ भन्ने मान्यता अन्त्य हुनुपर्ने बताए। रासस


प्रकाशित : बिहीबार , माघ ३ २०८११५:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend