आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

महोत्तरीमा धान उत्पादन बढ्यो

आइतबार, पुस २८ २०८१
महोत्तरीमा धान उत्पादन बढ्यो

महोत्तरीमा यसवर्ष पर्याप्त वर्षा, उन्नत प्रजातिका बीउ, समयमै मल खाद्य तथा कृषि प्राविधिकको साथ भएकाले धान उत्पादन बढेको बताइएको छ।

जलेश्वर- महोत्तरीमा यसवर्ष धान उत्पादन बढेको छ। कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख मनिष पालका अनुसार गत वर्षको तुलनामा यसवर्ष जिल्लामा ३७ हजार एकसय मेट्रिकटन धान बढी उत्पादन भएको हो।

यसवर्ष कुल ४२ हजार पाँचसय हेक्टरमा गरिएको धानखेतीमा एक लाख ५९ हजार आठसय मेट्रिकटन धान उत्पादन भएको हो। जुन गतवर्षको तुलनामा ३० दशमलव दुई प्रतिशतले बढी हो। गतवर्ष ३९ हजार आठसय ७० हेक्टरमा धानखेती गरिँदा एक लाख २२ हजार सातसय मेट्रिकटन धान उत्पादन भएको थियो।

महोत्तरीमा यसवर्ष पर्याप्त वर्षा, उन्नत प्रजातिका बीउ, समयमै मल खाद्य तथा कृषि प्राविधिकको साथ भएकाले धान उत्पादन बढेको प्रमुख पालले बताए।

उनले मसिनो र सुगन्धित धान (बासमती, कारी कुमोद, तुलसी फूल) लगायतको धान उत्पादन, क्षेत्रफल र उत्पादकत्वमा भने ह्रास आएको बताए। उनका अनुसार यसवर्ष जिल्लामा केवल तीन हजार दुईसय ५० हेक्टरमा मसिनो धानखेती गरिएकोमा १० हजार ६ सय २५ मेट्रिकटन धान उत्पादन भएको हो।

केन्द्रका अनुसार जिल्लामा यसवर्ष मोटा धानको उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ७६ मेट्रिकटन छ भने मसिनो धानको उत्पादकत्व मात्र दुई दशमल पाँच मेट्रिकटन छ। रासस


प्रकाशित : आइतबार, पुस २८ २०८११३:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend