आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

भार्सेका किसान व्यावसायिक किबीखेतीमा आकर्षित

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस २६ २०८१
भार्सेका किसान व्यावसायिक किबीखेतीमा आकर्षित

किबी बढी झुसिलो हुने भएका कारण पनि अन्य वन्यजन्तु टाढै बस्ने गरेको बताइएको छ। गुल्मीमा एक हजार दुई सय मिटरदेखि दुई हजार मिटर उचाइसम्म किबीखेती गरिँदै आएको छ।

गुल्मी- गुल्मीमा व्यावसायिक किबीखेतीमा किसानको आकर्षण बढ्दै गएको छ। जिल्लाको सत्यवती गाउँपालिका-८ अन्तर्गत भार्सेका किसानले किबी बिक्री गरेर वार्षिक ८० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेका छन्।

२०६५ सालदेखि किबी लगाउन थालेका त्यहाँ किसानको बारी यतिबेला किबीका लहराले ढपक्कै ढाकेको छ। भार्सेका किसान यतिबेला किबीको व्यावसायिक उत्पादन सुरु गरेपछि उनीहरूको आर्थिकस्तर समेत वृद्धि हुँदै जान थालेको छ। 

जिल्लामा सबैभन्दा धेरै किबी उत्पादन गर्ने पालिकामा सत्यवती गाउँपालिका पर्छ। सत्यवतीको भार्सेमा हाल ४० हेक्टर क्षेत्रमा किबीको व्यावसायिक रूपमा उत्पादन हुँदै आएको छ।

यो वर्ष त्यहाँका किसानले ८० टनभन्दा बढी किबी उत्पादन गरेको स्थानीय किसान एवं वडासदस्य यमबहादुर थापाले जानकारी दिए। भार्सेमा उत्पादित किबी स्थानीय बजार तथा पाल्पा र बुटवलसम्म पुग्ने गर्छ। बजारमा उपलब्ध किबीको तुलनामा भार्सेमा उत्पादित किबीको औषत मूल्य दुई सय रुपैयाँ छ। यहाँका किसानको मुख्य आम्दानी यतिबेला किबीखेती बनेको छ। 

सत्यवती गाउँपालिकाले भार्सेलाई किबीको पकेट क्षेत्र घोषणा गरेसँगै किबी उत्पादनमा स्थानीयको आकर्षण बर्सेनि बढ्दै गएको हो। किबीखेतीको व्यावसायिक उत्पादनका लागि किसानलाई गाउँपालिकाबाट प्राविधिक सहयोगदेखि तालिम, बिरुवा, पोल निर्माण र सिँचाइलगायत क्षेत्रमा सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष टीकाराम सापकोटाले बताए।

यस वर्ष पनि गाउँपालिकाबाट नर्सरी स्थापना, बगैँचा व्यवस्थापनसँगै किबीको जाम र वाइन बनाउने तालिम प्रदान गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिए। 

भार्सेका किसान यमबहादुर थापाले व्यावसायिक रूपमा किबीखेती गर्दै आएका छन्। उनले लगाएका एक सय ५० बोटमध्ये एक सय ३० बोटले फल दिन थालेको बताए। यसपटक थापाले २५ क्विन्टल किबी स्थानीय बजार हुँदै पाल्पा र बुटवलसम्म बिक्रीका लागि पठाइसकेका छन्।

गत वर्षको तुलनामा यसपटक उत्पादन बढेसँगै किबीको मूल्य घटेको उनको भनाइ छ। उनको बारीमा ‘रेडकिबी’, ‘हेवार्ड’, ‘एलिसन’, ‘ब्रुनो’ गरी चार जातका किबी रहेका छन्। अन्य खेतीको तुलनामा किबीबाट राम्रो आम्दानी हुने उनको अनुभव छ। यीमध्ये एलिसन जातको किबी मीठो र स्वादिलो हुने थापाले बताए।

सिजनमा भार्सेका बारी किबीले ढपक्कै ढाकिएका हुन्छन्। किबीको बिरुवाले रोपेको तीन वर्षबाटै फल दिन सुरु गर्दछ। यसले एउटै बोटबाट ६० देखि एक सय २० किलोसम्म फल दिने गरेको वडाध्यक्ष होमबहादुर रानाले बताए। बाँदर, बँदेल र चराचुरुङ्गीबाट अन्य खाद्य बाली जोगाउन समस्या परेको अवस्थामा किबीखेती त्यहाँका किसानका लागि वरदान सावित भएको छ।

किबी बढी झुसिलो हुने भएका कारण पनि अन्य वन्यजन्तु टाढै बस्ने गरेको बताइएको छ। गुल्मीमा एक हजार दुई सय मिटरदेखि दुई हजार मिटर उचाइसम्म किबीखेती गरिँदै आएको छ। गुल्मीमा सत्यवती गाउँपालिकालगायत कालीगण्डकी, मदाने, मालिका, धुर्कोट, छत्रकोटलगायत पालिकामा किबीको व्यावसायिक खेती गर्न थालिएको छ। रासस


प्रकाशित : शुक्रबार, पुस २६ २०८१११:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend