आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

चितवनमा तोरीखेतीको क्षेत्रफल बढ्यो, उत्पादन पनि बढ्ने अनुमान

बुधबार, पुस २४ २०८१
चितवनमा तोरीखेतीको क्षेत्रफल बढ्यो, उत्पादन पनि बढ्ने अनुमान

जिल्ला कृषि विकास कार्यालय चितवनका योजना अधिकृत निर्मल पौडेलका अनुसार गत वर्षको तुलनामा यसवर्ष तोरीखेती हुने क्षेत्रफल सातदेखि आठ प्रतिशत बढेको हो।

चितवन- भरतपुर महानगरपालिका र माडी नगरपालिकामा गत वर्षको तुलनामा यसवर्ष तोरीखेती हुने क्षेत्रफल बढेको छ। जिल्ला कृषि विकास कार्यालय चितवनका योजना अधिकृत निर्मल पौडेलका अनुसार गत वर्षको तुलनामा यसवर्ष तोरीखेती हुने क्षेत्रफल सातदेखि आठ प्रतिशत बढेको हो।

गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा १३ हजार ६ सय ४२ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको थियो। क्षेत्रफल बढेसँगै उत्पादन पनि बढ्ने अनुमान गरिएको उनको भनाइ छ। गत आवमा यहाँ १७ हजार ६ सय ८९ मेट्रिकटन तोरी उत्पादन भएको थियो।

छोटो अवधिमा उत्पादन लिन सकिने नगदेबाली भएको र निकुञ्ज नजिक रहेका ठाउँमा जंगली जनावरले अन्य बालीमा भन्दा तोरीमा कम क्षति पुर्‍याउने भएकाले यसतर्फ किसानहरूको आकर्षण बढेको हुनसक्ने उनले बताए।

तोरीखेती प्रवर्द्धनका लागि स्थानीय, प्रदेश र संघीय सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेकाले तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको पौडेलको भनाइ छ।

पूर्वी चितवनमा खैरहनी, कालिका र रत्ननगर नगरपालिका, पश्चिमी चितवनमा शिवनगर, पार्वतीपुर, शुक्रनगर, मेघौलीलगायत क्षेत्र र माडी नगरपालिकाका विभिन्न क्षेत्रमा तोरीखेती गरिँदै आइएको छ। रासस


प्रकाशित : बुधबार, पुस २४ २०८११०:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend