आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

त्रिवेणीका किसान सुन्तलाखेतीमा आकर्षित, सुन्तला बिक्रीबाट यसवर्ष एक करोड आम्दानी

बुधबार, पुस २४ २०८१
त्रिवेणीका किसान सुन्तलाखेतीमा आकर्षित, सुन्तला बिक्रीबाट यसवर्ष एक करोड आम्दानी

पालिकामा यसवर्ष किसानले एकसय ९४ मेट्रिकटन सुन्तला उत्पादन गरेको त्रिवेणी गाउँपालिका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिए।

त्रिवेणी- रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका पछिल्लो समय व्यावसायिक सुन्तलाखेती गर्ने किसानको सङ्ख्या बढेको छ।

पालिकाभर एकसय तीन किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन्। पालिकामा यसवर्ष किसानले एकसय ९४ मेट्रिकटन सुन्तला उत्पादन गरेको त्रिवेणी गाउँपालिका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिए। उनका अनुसार गाउँबाटै प्रतिकिलो ५२ रूपैयाँका दरले सुन्तला बिक्री भएको छ।

उनका अनुसार पालिकावासीले यसवर्ष सुन्तला बिक्रीबाट एक करोड एक लाख आठ हजार आठसय रूपैयाँ आम्दानी गरेका छन्। केही स्थानमा सुन्तला बिक्री हुन बाँकी रहे पनि अधिकांश किसानले सुन्तला बिक्री गरिसकेको छन्।

व्यावसायिक सुन्तलाखेती गर्ने एकसय तीनजना किसानमध्ये २२ जना किसानको सुन्तला असिनाले क्षति पुर्‍याएको थियो। असिनाले क्षति नपुर्‍याएका ठाउँमा भने किसानले सुन्तलाबाट राम्रो मनग्य गरेका छन्।

व्यावसायिक सुन्तलाखेती गर्ने प्रत्येक किसानले चार रोपनी क्षेत्रफलभन्दा बढी जग्गामा सुन्तलाखेती गर्दै आइरहेका छन्। एक रोपनी क्षेत्रफलमा ६ क्विन्टलसम्म सुन्तला उत्पादन हुने गरेको कृषि शाखा प्रमुख पुनले जानकारी दिए। पालिकाभर तीनसय २४ रोपनी अर्थात् १६ दशमलव दुई हेक्टरमा सुन्तलाखेती भइरहेको छ। व्यावसायिक रूपमा पालिकाको वडा नम्बर १, ४, ५, ६ र ७ का किसानले सुन्तला उत्पादन गर्दै आएका छन्।

सुन्तलाखेतीबाट गत वर्षभन्दा यसवर्ष राम्रो आम्दानी भएको त्रिवेणी-४ जुगेपानीका ५२ वर्षीय किसान चन्द्रबहादुर खड्काले बताए। यो सिजनमा सुन्तला बिक्रीबाट सात लाख ८३ हजार रूपैयाँ आम्दानी गरेको खड्काको भनाइ छ। 'सुन्तला बिक्री गर्न समस्या छैन, खरिद गर्न व्यापारी घरमै पुग्छन्, घरबाटै सात लाख ८३ हजार रूपैयाँको सुन्तला बेचेँ', खड्काले भने।

प्रतिकिलो ६२ रूपैयाँका दरले घरबाटै सुन्तला बिक्री गरेको उनले बताए। यसपटक एकसय ४२ क्विन्टल सुन्तला बिक्री गरेको उनले बताए। यस वर्ष सुन्तला राम्रो उत्पादन भएको र मूल्य पनि राम्रै पाएको खड्काको भनाइ छ। अन्य खेती छाडेर उनले व्यावसायिक रूपमा सुन्तला र अलैँचीखेती गर्दै आएका छन्। रासस


प्रकाशित : बुधबार, पुस २४ २०८११०:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend