आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

रित्तिँदै गएको लेखानी गाउँमै बसेर व्यावसायिक तरकारीखेतीबाट राम्रो आम्दानी

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस २२ २०८१
रित्तिँदै गएको लेखानी गाउँमै बसेर व्यावसायिक तरकारीखेतीबाट राम्रो आम्दानी

गत वर्ष असारमा दिइएको तरकारीखेतीसम्बन्धी तालिमले किसानलाई व्यावसायिक बन्न प्रेरित गरिरहेको छ। तरकारीखेती गर्न थालेपछि परिवारको आर्थिक अवस्था उकासिएको स्थानीय पम्पी कँडेलले बताइन्।

बागलुङ- बागलुङको काठेखोला गाउँपालिका-८ लेखानी गाउँ बसाइँसराइका कारण बिस्तारै रित्तिँदै छ। हुने खानेहरू सहर बजार झरेपछि गाउँमा अहिले न्यून आएका भएका परिवारमात्रै छन्। गाउँमा बस्दै आएका स्थानीयले व्यावसायिक तरकारीखेतीबाट राम्रो आम्दानी गर्नाका साथै जीविको चलाउँदै आएका छन्। गाउँका झण्डै एक सय घरपरिवार तरकारीखेतीमा आबद्ध छन्। 

उनीहरूलाई स्थानीय सरकार तथा विभिन्न संघसंस्थाले प्राविधिकसहित तालिमको सहयोग र अनुदानसमेत दिने गरेका छन्। लेखानी गाउँको टोल-टोलमा प्लास्टिकका टनेल भेटिन्छन्। छरिएर रहेको गाउँमा किसानले व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएपछि उनीहरूको जीवनस्तरमा पनि सुधार आउन थालेको छ। 

गत वर्ष गाजा फाउन्डेसनले ५० परिवारलाई तरकारीखेती गर्ने तालिम र अनुदान दिएको थियो। त्यसपछि गाउँमा तरकारीखेती गर्नेको लर्को लाग्न थालेको छ। तरकारी बेचेरै यहाँका धेरैले दैनिकी चलाउने गरेका छन्। यहाँका किसानले उत्पादन गरेको तरकारी बागलुङमा खपत हुने गरेको छ। पहिले कोदो, मकै, र दोरी फल्ने बारीमा अहिले लटरम्म गोलभेँडा, बन्दा, काउली र साग उब्जिरहेका छन्। 

गत वर्ष असारमा दिइएको तरकारीखेतीसम्बन्धी तालिमले किसानलाई व्यावसायिक बन्न प्रेरित गरिरहेको छ। तरकारीखेती गर्न थालेपछि परिवारको आर्थिक अवस्था उकासिएको स्थानीय पम्पी कँडेलले बताइन्। तरकारी बेच्न थालेपछि परिवारको खर्च चलाउन सहज भन्दै गएको उनको भनाइ छ।

'गाउँ छोड्दै बजार झर्ने धेरै छ, गाउँमा सम्भावना केही छैन भन्छन्, अहिले हामीहरूले यहाँ धेरै सम्भावना देखेका छौँ, हामीहरूसँग सामान्य तरकारीखेती गर्ने सीप पनि रैनछ, त्यही भएर बजार झर्दा रैछौँ,' उनले भनिन्, 'अहिले गाउँका अधिकांशले टनेल हालेर तरकारीखेती गर्न थालेका छौँ, धेरै तरकारी लगाउनेले लाखौँ आम्दानी गर्छन्, हामीहरूले एक सरो लगाउन र बिहान-बेलुकाको छाक टार्न अरूको मुख ताक्नुपर्ने अवस्था छैन।'

पहिले परम्परागत रूपमा तरकारीखेती गर्दा उत्पादन बढाउन नसकेको भन्दै अहिले वार्षिक पाँच लाख बढीको तरकारी बिक्री गर्ने गरेको स्थानीय लिलाधर कँडेलले बताइन्। आफूले एक दशकदेखि नै तरकारीखेती गर्दै आएको सुनाउँदै गत वर्षदेखि खेतीलाई थप विस्तार गरेको उनको भनाइ छ। पहिले गाउँमा तरकारी बेच्ने चलन नभएको सुनाउँदै पछिल्लो समय किसानहरू व्यावसायिक बन्दै गएको कँडेलले बताइन्।

उनले भनिन्, 'हामी किसानका लागि तालिम, प्राविधिक र बीउ नभई हुँदैन, विभिन्न संघसंस्थाहरूले सहयोग गर्नुभएको छ, व्यावसायिक बन्न सिकियो, पहिला पहिला हाम्रा बाउबाजेका पालामा तरकारी पनि बेच्छन् भन्थे, अहिले त्यही तरकारीले परिवार चलेको छ, बजारका लागि धेरै समस्या छैन, कहिलेकाहीँ भने अनुसारको बजार नपाउँदा दुःख लाग्छ।'

नेपाल गाजा डेपलभमेन्ट फाउन्डेसनकी सामाजिक परिचालिका यमुना बस्यालले लेखानीका किसानले तरकारीखेतीसम्बन्धी तालिम लिएपछि व्यावसायिक रूपमा लाग्ने महिलाहरू बढेको बताइन्। फाउन्डेसनले किसानलाई तालिमसहित टनेल, बीउ र कृषिसम्बन्धी अन्य उपकरण उपलब्ध गराएको उनको भनाइ छ। रासस


प्रकाशित : सोमबार, पुस २२ २०८११४:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend