आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

प्रशोधन उद्योगमार्फत ७० लाख रुपैयाँको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस २२ २०८१
प्रशोधन उद्योगमार्फत ७० लाख रुपैयाँको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य

उद्योगमा लप्सीसँगै अदुवा, अलैची, अमला, बेसार, टिमुर, खुर्सानि लगायतको प्रशोधन समेत हुँदै आएको छ भने पछिल्लो दुई वर्ष यता मकैको सातु उत्पादनबाट समेत लाखौँ रूपैँया आम्दानी भइरहेको छ।

पर्वत- यसवर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न कृषकहरूलाई भ्याइनभ्याइ छ। नेपालमै सबैभन्दा बढी लप्सी उत्पादन गर्ने जिल्लाका रुपमा चिनिएको पर्वतका अधिकांश कृषकहरूले लप्सीका दाना बिक्री गर्दै आएका छन् भने जिल्लाको फलेवास-४ मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको प्रशोधन गर्दै आएको छ। 

यो उद्योगले लप्सीबाट माडा, अचार, क्याण्डी, तितौरा, जाम, लप्सी धुलो, पिरो क्याण्डीलगायत परिकार बनाउँदै आएको छ। विगत डेढ दशकदेखि लप्सी प्रशोधन गर्दै आएको उद्योगले यस वर्ष झण्डै ७० लाख रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य राखको छ। उद्योगमा यस वर्ष झण्डै ६० टन लप्सी प्रशोधनको तयारी गरिएको छ। 

गाउँगाउँबाट लप्सी संकलन गर्ने र अचार, माडा बनाउने तथा क्यान्डिका लागि गुदी निकालेर राख्ने काम भैरहेको उद्योगका सञ्चालक थानेश्वर भुसालले जानकारी दिए। पर्वतमा झण्डै दुई सय मेट्रिकटन लप्सी उत्पादन हुने भए पनि ३० प्रतिशत मात्र प्रशोधन गर्न सकिएको उनको भनाइ छ। बाँकी केही कृषकहरूले बोटबाटै दाना बिक्री गर्दै आएका छन् भने जनशक्तिको अभावले टिप्न नसक्दा बोटमै खेर जाने गरेको भुसालले बताए। 
 
जनशक्ति र प्रविधिको अभाव तथा पर्याप्त बजार नहुँदा उत्पादित सबै लप्सी प्रशोधन गर्न नसकिएको सञ्चालक भुसालको भनाइ छ। कोरोना सङ्क्रमणमा  अमेरिका, अस्ट्रेलिया, हङकङ लगायतका देशमा समेत निर्यात गरेको भए पनि अहिले भने स्वदेशकै बजारमा निर्भर हुनुपरेको उनको भनाइ छ। 

भुसालले सञ्चालन गरेको उद्योगमा ७ जनाले रोजगारी पाएका छन्। लप्सीसँगै अमला, अदुवालगायत परिवार बनाएर हुने कूल आम्दानीबाट खर्च कटाएर वर्षमा १० देखि १२ लाख रुपैयाँसम्म बचत हुने गरको उनले बताए। 

चार वर्ष पहिले उत्पादित लप्सीका दश लाख बराबरका परिकारहरू अमेरिका पठाएका भुसालले नेपालमा भन्दा पनि बढी विदेशमा माग रहे पनि अहिले पठाउने संयन्त्र नरहेको बताए। नेपालीहरूले विदेश फकिँदा कोशेली र पाहुरको रूपमा लैजाने बाहेक व्यावसायिक हिसाबले उद्योगबाटै होलसेलमा विदेश पठाउन नसकिएको उनको भनाइ छ।
 
जिल्लाका झण्डै ४० वटा वडामा लप्सीको उत्पादन हुँदै आएको छ। कुनै बेला जङ्गलमा त्यसै झरेर कुहिने लप्सी पछिल्लो समय प्रशोधन गर्न थालेपछि आम्दानीको राम्रो श्रोत बनेको हो। वनपाखामा त्यसै खेर जाने लप्सीबाट आम्दानी गर्न सकिने भएपछि लप्सीको व्यावसायिक खेतीसमेत सुरू भएको छ। सामुदायिक खाद्य प्रशोधन उद्योगले कृषकलाई लप्सी खेतीतर्फ आकर्षित गर्नका लागि निःशुल्क बिरूवा समेत वितरण गर्दै आएको छ। 

उद्योगमा लप्सीसँगै अदुवा, अलैची, अमला, बेसार, टिमुर, खुर्सानि लगायतको प्रशोधन समेत हुँदै आएको छ भने पछिल्लो दुई वर्ष यता मकैको सातु उत्पादनबाट समेत लाखौँ रूपैँया आम्दानी गर्ने गरेको सञ्चालक भुसालले बताए। लप्सी, अमला र अदुवा सिजनको बेलामा प्रशोधन हुने भए पनि मकै, भट्टमास, बदाम लगायतको मिक्स सातु बाह्रैमास उत्पादन हुने सञ्चालक भुसालले बताए। रासस


प्रकाशित : सोमबार, पुस २२ २०८११२:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend