आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

धानको उत्पादकत्वमा कीर्तिमानी सुधार, 'मौसमी अनुकूलता र समयमै मल वितरण हुँदा सुखद परिणाम'

शनिबार, पुस २० २०८१
धानको उत्पादकत्वमा कीर्तिमानी सुधार, 'मौसमी अनुकूलता र समयमै मल वितरण हुँदा सुखद परिणाम'

गत वर्ष धानको उत्पादन ४.३३ प्रतिशतले बढ्दा समग्र कृषि क्षेत्रको वृद्धिदर ३.०५ प्रतिशत रहेको थियो। यो वर्ष पनि धानको उत्पादन ४.०४ प्रतिशतले बढेको छ। यही कारणले आर्थिक वृद्धिमा यसको प्रभाव सकारात्मक पर्नेछ।

काठमाडौं- चालु आर्थिक वर्षमा ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएको सरकारले अनुमान गरेको छ। यो नेपालमा हालसम्मकै धेरै धानको उत्पादन हो। 

कृषि मन्त्रालयको तथ्यांक सार्वजनिक गर्दै धानको उत्पादन बढेको तर खेती हुने क्षेत्रफल भने पछिल्ला वर्षमा निरन्तर घट्दै आएको उल्लेख गरेको छ। पछिल्ला छ वर्षदेखि धान खेत हुने ठाउँ घटिरहेको छ। धानको खेती हुने क्षेत्रफल संकुचित भएपनि महत्वपूर्ण कुरा उत्पादकत्वमा उल्लासमय सुधार भएको मन्त्रालयले जानकारी दिएको छ। 

नेपालमा धानको उत्पादन प्रतिहेक्टर ४.१९ टन पुगेको छ। यो गत वर्षको तुलामा ५.३८ प्रतिशतले धेरै हो। धानको उत्पादकत्वमा वृद्धि हुनु भनेको धान उत्पादनको लागतमा न्यूनीकरण भएको मान्न सकिन्छ। थोरै जमिनमा विगतकोभन्दा धेरै उत्पादन भएपछि यो सन्तोषजनक तथ्यांक रहेको मन्त्रालयको भनाइ छ। 

धानको उत्पादन बढ्नु भनेको नेपालको आर्थिक वृद्धिदरमा सुधार हुने अपेक्षा गरिन्छ। कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको हिस्सा २४.०९ प्रतिशत छ। कृषिमा धानको योगदान धेरै रहन्छ। त्यसैले धानको उत्पादन जति बढ्यो आर्थिक वृद्धिदरलाई उति नै टेवा पुग्दै आएको छ। 

गत वर्ष धानको उत्पादन ४.३३ प्रतिशतले बढ्दा समग्र कृषि क्षेत्रको वृद्धिदर ३.०५ प्रतिशत रहेको थियो। यो वर्ष पनि धानको उत्पादन ४.०४ प्रतिशतले बढेको छ। यही कारणले आर्थिक वृद्धिमा यसको प्रभाव सकारात्मक पर्नेछ। 

धानको उत्पादनभन्दा उत्पादकत्वमा भएको सुधार उल्लेखनीय रुपमा सरकारले लिएको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भने मनसुन समयमै मलको वितरण मुख्य कारण रहेको उल्लेख गरिएको छ। रासायनिक मल र उन्नत जातको धानको बीउ वितरण भएका कारण उत्पादकत्व बढेको मन्त्रालयले उल्लेख गरेको छ। 

मौसमी अनुकूलता र समयमै मल बीउको पहुँच विस्तार हुँदा धानको उत्पादन बढेको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशी बताउँछन्। 

सयौँ रणनीतिक सिँचाइ परियोजना निर्माण नहुँदा पनि मौसमी अनुकूलता लगायतका केही सुधारले भूमिका खेलेको उनको भनाइ छ। 

ठूला सिँचाइ आयोजना निर्माण नभएपनि साना सिँचाइ परियोजनाको विकासमा पछिल्लो समय भएका सुधारले पनि योगादन गरेको उनको भनाइ छ। उत्पादकत्व बढाउनका लागि भूमिका खेल्ने साना सिँचाइ आयोजना प्रदेश तथा संघीय सरकारको साझेदारीमा पछिल्लो समय काम अघि बढेको छ। 

प्रदेशदेखि स्थानीय सरकारले पनि पछिल्लो समय सिचाइमा काम गरिरहेको र कृषि उत्पादनमा सहजीकरण गरिरहेकाले त्यसको परिणामस्वरुप पनि यो उत्पादकत्व बढेको जोशीको भनाइ छ। 

‘मौसमी अनुकूलता त हो नै, त्यसका साथै सरकारी तहबाट पनि सुधारका काम भइरहेका छन्’ उनी भन्छन्।

धानको उत्पादकत्व सबैभन्दा धेरै उत्पादन हुने मधेस प्रदेशमा अपेक्षित बढ्न सकेको छैन। सबैभन्दा धेरे कोशी प्रदेशमा ४.४५ टन रहेको छ। त्यसपछि सुदूरपश्चिम प्रदेशको ४.११ टन रहेको छ। त्यस्तै मधेस प्रदेशको ३.९६ टन रहेको छ। 

खेती हुने क्षेत्रमा संकुचन आउँदा पनि धानको उत्पादनमा देखिएको यो वृद्धिलाई निरन्तरता दिनका लागि मुख्य सिँचाइ परियोजनाको निर्माण छिटो हुनुपर्छ। तर यस्तै सिँचाइ आयोजनामा भने बिलम्ब बढ्दै गएको छ। 


प्रकाशित : शनिबार, पुस २० २०८१११:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend