शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

पाँचपोखरी र मेलम्चीद्वारा सडक विभागको ध्यानाकर्षण

मंगलबार, माघ ११ २०७८
पाँचपोखरी र मेलम्चीद्वारा सडक विभागको ध्यानाकर्षण

मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाले यस भेगको सडक मर्मतका लागि सडक विभागको ध्यानाकर्षण गराएका छन्।

मेलम्ची- मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाले यस भेगको सडक मर्मतका लागि सडक विभागको ध्यानाकर्षण गराएका छन्। आइतबार मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामा, मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताललगायतको टोलीले सडक विभागको ध्यानाकर्षण गराएको हो। 

गत असार १ गतेको मेलम्ची बाढीले कटान गरेको मेलम्ची-१३ फटकशिलास्थित रातो पहिरो, मेलम्ची पाँचपोखरी सडक र फड्केश्वर छापभञ्ज्याङ सडकको मर्मतसम्भार तथा सडकले गरिरहेको कामका बारेमा जानकारी लिइएको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धितालले जानकारी दिए।  

भेटका क्रममा सडक विभागका उपनिर्देशक प्रभातकुमार झाले तीन दिनभित्र लागत स्टिमेटसहित मेलम्ची खाल्डेखोला सडक र रातो पहिरोको रिपोर्ट सडक विभागलाई बुझाउन सडक डिभिजन कार्यालय चरिकोटलाई निर्देशन दिएका छन्। त्यस्तै उनले फड्केश्वर-छापभञ्ज्याङ सडकमा १३ करोड रुपैयाँ विनियोजित रकम काठमाडौँ डिभिजन र चरिकोट डिभिजनको भएकाले छिट्टै समन्वय गरेर निर्णय गर्नेसमेत जानकारी दिए। 

साथै बैठकमा मेलम्ची नगरपालिकाका प्रमुख अर्यालले मेलम्ची क्षेत्रमा पाँचवटा पक्की पुल आवश्यक रहेको बताए। हिउँदमा अस्थायीरूपमा आवतजावत गरेको भए पनि बर्खा लागेपछि समस्या हुने अर्यालले सडक विभागलाई जानकारी गराएका थिए।

सडक विभागले भने फास्टट्याकमार्फत बोलपत्र आह्वान गरी काम अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरेको धितालले जानकारी दिए। अब छिट्टै सडक मर्मत तथा स्तरोन्नतिको काम अगाडि बढ्ने धितालले विश्वास व्यक्त गरेका हुन्। रासस


प्रकाशित : मंगलबार, माघ ११ २०७८०५:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend